विराटनगर– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीबारे झुट नबोल्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चेतावनी दिएका छन्।
एमसीसी पास गर्ने भनेर पत्राचार गरिएको प्रधानमन्त्री देउवाको भनाइ र त्यस्तो पत्र नपठाइएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिमध्ये एक झुट भएको दाबी गर्दै अध्यक्ष ओलीले झुट बोल्ने काम नगर्न सचेत गराएका हुन्। विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा ओलीले भने, ‘शेरबहादुरजी नि हस्ताक्षर गरेर दिएको भन्नुहुन्छ । प्रचण्ड दिएको छैन भन्नुहुन्छ। दुईटा मध्ये एउटाले झुट बोल्या जस्तो देखिएन? त्यस्तो झुट बोल्नु हुँदैन।’
अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने अडान दोहोर्याए।
अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने अडान दोहोर्याए। प्रधानन्यायाधीश जबरासहित सबै न्यायाधीशहरुले संविधानको पालना नगरेको आरोपसमेत उनको छ।
अध्यक्ष ओलीले भने, ‘राजीनामा सबै दिनुपर्ने खालको हुनुहुन्छ। उहाँहरुले अदालतको मर्यादा कसैले पनि बचाउनुभएको छैन। संविधानको पालना कसैले गर्नुभएको छैन। संविधानको व्याख्यातासम्म हो अदालत। संविधान परिवर्तन गर्ने, संविधान हेरफेर गर्ने होइन। संविधानको ब्याख्यासम्म गर्ने हो। व्याख्या गरेन उसले आफैं संविधानको अनेक धाराहरु सिर्जना गर्यो।’
अध्यक्ष ओलीले संविधान परिवर्तन गर्ने र हेरफेर गर्ने काम अदालतको नभएको स्मरण गराए।