काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल स्वास्थ्यलाभ गरी पार्टीको काममा फर्किएका छन्।
सोमबार पार्टी कार्यालय पुगेर खनालले विदेश विभागको बैठक राखी पार्टीको काममा सक्रिय हुन थालेका हुन्। खनालले विभागको बैठक राखेको नेकपा (एस)का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
‘पार्टी केन्द्रीय कार्यालय, मीनभवनमा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म उपस्थित भएर उहाँ (खनाल) प्रमुख रहनुभएको विदेश विभागको पहिलो बैठक बसेको छ,’ खतिवडाले भने।
खनालले गत २० साउनमा नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा मिर्गाैला प्रत्यारोपण गरेका थिए। चिकित्सकहरुको सल्लाहमा उनी घरमै आराम गरिरहेका थिए।
चिकित्सकहरुले तीन महिना पूर्ण आराम गर्न सल्लाह दिएका कारण उनी कुनै पनि कार्यक्रममा उपस्थित थिएनन्।
मिर्गौला प्रत्यारोपण सफल भएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले आफूले नाफाको जीवन प्राप्त गरेकाले जनताको सेवामा बाँकी जीवन समर्पित गर्ने बताएका थिए। 'पछिल्लो सर्जरीपछि बिल्कुलै नयाँ जीवन प्राप्त गरेको महसुस गरेको छु। मेरो यो नयाँ जीवन मैले बोनसमा प्राप्त गरेको नाफाको जीवन बनेको छ,' उनले उल्लेख गरेका थिए।
लोकतन्त्रको सुदृढीकरण, संविधान रक्षाका लागि र नेपाली मोडलको समाजवादप्रति आफ्नो बाँकी जीवन समर्पण गर्नेसमेत उनको भनाइ थियो। 'अब मेरो यो बाँकी जीवन देश, जनता, मुलुकको राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा,राष्ट्रको एकता, सही वैचारिक–राजनीतिक कार्यदिशाका आधारमा कम्युनिष्ट आन्दोलनको नयाँ स्तरको एकता, दिगो शान्ति र नेपाली मोडेलको समाजवादप्रति प्रतिबद्ध रहने छ,' विज्ञप्तिमा भनिएको थियो।