जनकपुरधाम- गृहमन्त्री बालकृष्ण खाँडले प्रत्येक नेपाली जनताको सुरक्षा नै नेपाल सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
सोमबार जनकपुरधाममा कार्यकर्ता भेला तथा सुरक्षा समितिको बैठकमा सहभागी हुनका लागि आएका गृहमन्त्री खाणले सञ्चारकर्मीसँग कुराकानी गर्दै अहिले रहेको सुरक्षा व्यवस्थालाई थप सुधार गर्न तथा नेपाली नागरिकको कुनै पनि स्थानमा स्वतन्त्रता पूर्वक बाँच्न पाउनुपर्ने अधिकारलाई सुनिश्चितताको लागि सरकार प्रयत्नशिल रहेको बताए ।
राज्यको र सरकारको पहिलो दायित्व नै नागरिकको जीवन रक्षा रहेको र त्यसका लागि आफूहरू प्रयत्नशील रहेको उनको भनाई थियो।
न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका स्वतन्त्र रहेको र स्वतन्त्रतापूर्वक काम गरिरहेको भन्दै उनले न्यायपालिकामा देखिएको समस्यालाई छिटोभन्दा छिटो समाधान हुनुपर्ने सरकारको चाहना रहेको बताए।