काठमाडौं- प्रधानन्यायाधीश चोलन्द्र शमशेर राणाविरुद्ध नेपाल बार एसोसिएसनले दोस्रो चरणका आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार एक विज्ञप्ति जारी गरी बारले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।बारका अनुसार सोमबार बिहान एक घण्टा बारमा कालोपट्टीसहित धर्ना दिइनेछ।
यसअघि पनि बारले राणाविरुद्ध आन्दोलनका कार्यक्रम गर्दै आएको थियो। बारले कात्तिक १४ देखि १७ सम्म कालोपट्टीसहितका धर्ना कार्यक्रम गरेको थियो। तिहारका कारण केही दिन आन्दोलन स्थगित गरेको बारले सोमबारबाट पुनः आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने भएको हो। राणाले पदबाट राजीनामा नदिएसम्म आन्दोलन जारी रहने बारको भनाइ छ। बारले थप आन्दोलनका कार्यक्रम पछि सार्वजनिक गर्नेसमेत बताएको छ।
प्रधानन्यायाधीश राणाले न्यायालयको नेतृत्व गर्न असफल भएको भन्दै बार उनीविरुद्ध आन्दोलनमा होमिएको हो। राणाले न्याय क्षेत्र सुधारका लागि गरेका प्रतिबद्धता पूरा नभएको विषयलाई केन्द्रमा राखी बार आन्दोलनमा होमिएको बताइएपनि पछिल्लो समय राणाले राजनीतिक भागबन्डामा माग गरेपछि बारले आन्दोलन चर्काएको हो।
राणाले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आफ्नो भाग छुट्याउन माग गरेपछि राणाका जेठान गजेन्द्रबहादुर हमाल मन्त्री पदमा नियुक्त भएका थिए। तर सार्वजनिक रूपमा व्यापक विरोध भएपछि उनी राजीनामा दिन बाध्य भएका थिए।