काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन लोकतन्त्रका भक्षकहरू भएको आरोप लगाएका छन्। कर्णाली प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन्।
'पाँचदलीय गठबन्धन लोकतन्त्रका भक्षक हुन्, लोकतन्त्र भक्षीहरू हुन्। यिनीहरूलाई सत्ता चाहिएको छ, देश होइन,' ओलीको टिप्पणी छ, 'हामी लोकतन्त्र तलमाथि हुन दिँदैनौँ। एमालेको अठोटका कारण मात्र लोकतन्त्र जीवित छ।'
पाँचदलीय गठबन्धन आवरणमा एक भए पनि भित्री व्यवहारमा भने अर्कै भएको आरोप लगाएका थिए। उनले आफूहरू सत्तामा हुँदा पनि सेना पुलिस प्रयोग गर्न नपाएको समेत देखेसो गरेका थिए। उनको असन्तुष्टि अदालतविरुद्ध पनि थियो।
'हामी सरकारमा हुँदा पनि अदालत हाम्रै विरुद्ध प्रयोग भयो। सेना पुलिस प्रयोग हुन पाएन । अदालत प्रयोग गर्दै पुग्ने भएकाले प्रधानमन्त्री छुट्टी र अर्को प्रधानमन्त्री चयन गरियो,' उनले भने।