बुटवल– भैरहवामा भएको चित्रांश कप क्रिकेट प्रतियोगिताको च्याम्पियन चित्रांश सुपर किङले हात पारेको छ। चित्रांश युथ क्लबको आयोजना चित्रगुप्त युवा सेवा समिति भैरहवाको संयोजनमा सिद्धार्थ रंगशालामा भएको प्रतियोगितामा कायस्त नाइट राइडर्सलाई ३६ रनले पराजित गर्दै चित्रांश सुपर किङ उपाधि चुम्न सफल भएको हो।
चित्रांश परिवारबीच आपसी भाइचारा स्थापित गर्ने र खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले शुक्रबार ४ वटा टिम बीच प्रतियोगिता भएको थियो। पहिलो खेलमा चित्रांश सुपर किंग र रोयल नाइट्सबीच भएको खेलमा चित्रांश २२ रनले विजयी भई फाइनल खेलेको थियो भने दोस्रो खेल वेभ वारियर्स र कायस्थ नाइट राइडर्स बीच भएकोमा कायस्त ६ विकेटले विजयी भई फाइनल खेलेको थियो।
फाइनल खेलमा चित्रांश र कायस्त बीच भएकोमा ९९ रनको लक्ष्य पाएको कायस्तले निर्धारित १२ ओभरमा लक्ष्य पार गर्न नसकेपछि चित्रांश विजयी भएको हो। जितका लागि चित्रांशका सुरज कर्णले ३३, सौरभ लाभले ३२ रन जोडेका थिए भने बलिङ तर्फ कायस्तका विकास मल्लीक र कैलाशले ३–३ विकेट लिएका थिए। कायस्त तर्फ पवन कर्णले सार्वधिक २४ रन जोडेपनि खेल जित्न सकेनन्।
फाइनल खेलको म्यान अफ द म्याच सौरभ लाभ भएको चित्रगुप्त युवा सेवा समितिका अध्यक्ष रत्नेश मल्लिकले बताए। प्रतियोगिताको एक कार्यक्रमका बीच कृषि विकास बैंक लुम्बिनी प्रदेशका निर्देशक राजेशकुमार श्रीवास्तवले उद्घाटन गरेका थिए।