महोत्तरी- बर्दिबासको ब्यस्त सडकमा तिहारको किनमेलले मानिसहरूको ठुलो भिड छ। कोही कपडा किन्न व्यस्त छन् भने कोही फलफूल, मिठाई किन्न व्यस्त देखिन्छन्।
तर, सडकको एउटा कुनामा बसेर ढुङ्गा कुँद्दै दिनमा ८ सय रुपैयाँ कमाउने गौशाला निगौलका १६ वर्षिय सुरज कुमार थवइलाई भने न चाडपर्वको महत्त्व छ नत कुनै रमाइलो नै। थवइलाइ एउटै चाहना रहन्छ कि त्यही किनमेल गरेर फर्किएका बटुवाहरूले आफूले बनाएको जाँतो र सिलौटा किनिदिउन्।
ढुङ्गा कुदेर सिलौटा, जाँतो बनाउने सुरज मात्र हैनन् उन् की ५० वर्षीय आमा राधादेवी थवइ, दिदी कवितादेवी र मामा सुनिल कुमारको पनि उस्तै चाहना छ। कहिलेकाहीँ उनिहरूले बनाएको सुन्दर जाँतो र सिलौटा महिनौँसम्म बिक्री हुँदैन। जाँतो, सिलौटा बेचेर नै जीविकोपार्जनको माध्यम बनाएका थवइ परिवारले कयौँ छाक खाना समेत नखाएको नमिठो सम्झना छ।
बर्दिबासको पूर्व जाने पिपलको आडमा बसेर ढुङ्गा कुँद्दै बिहान, बेलुका छाक टार्दै आएका उनिहरूको बस्ने कोठा पनि छैन। घुमन्ते, फिरन्ते जस्तै उनिहरु जहाँ बढी व्यापार हुन्छ त्यही जान्छन। कहिले सर्लाही, कहिले महोत्तरी जस्ता ठाउँमा घुमेर दिनभरि ढुङ्गा कुदेर बनाएको सिलौटा बेच्नु पर्ने थवइ परिवारको बाध्यता छ।
वीरगन्जवाट गौशाला नगरपालिकाको निगौलमा आएर यो परिवारले झन्डै १८ वर्ष व्यापार गर्यो। सरकार भूमिहिन, सुकुम्बासीहरूलाइ जग्गा तथा लालपुर्जा वितरण गरेर भूमिपती बनाउने भाषण लगाएर थाकेको छैन।
तर यो मजदुरी गर्ने परिवारको न जग्गा छ न कुनै बस्ने ठेगाना नै। नेपालको नागरिक भएतापनी पहिचानबिहिन नागरिकताको प्रमाणपत्र बोकेर उनिहरु अहिले सर्लाहीको बागमती किनारवाट ढुङगा ल्याउछन अनि सुन्दर सिलौटा र जातो कुदेर बेच्ने पर्खाइमा बस्छन।
हुन त थवइ परिवारको यो परम्परागत पेसा नै हो। सुरजका बुवा र हजुरबुवाले सम्हाल्दै आएको सिलौटा र जाँतो बनाउने कला अहिले परिवारका हरेक सदस्यले निरन्तरता दिएका मात्र हुन। तर समाज यान्त्रीकरण हुदा अहिले जातोको सट्टा आधुनिक पिस्ने हाते मेसिन आएका छन्, सिलौटाको सट्टा मसला पिस्ने भान्से औजार निर्माण भएका छन। जसको फलस्वरूप थवइ परिवारलाई जीविकोपार्जन गर्न कष्टकर छ।
सुरज कि ५० वर्षीय आमा राधादेवीले २० वर्ष अगाडि यही जाँतो र सिलौटा बनाएर जिविकोपार्जन मात्र हैन केही पैसाको जोहो गरेको सम्झना छ।
उन्का छोरा सुरजको पनि अन्य कुनै सीप छैन। कमाउन बाहिर पठाउन पैसा छैन। १६ बर्षिय सुरजलाइ पनि यस्तै लाग्छ कि अब यो पेशावाट बाँच्न गार्हो छ।
२०५६ सालदेखी नै सरकारले भुमी आयोग बनाएर भीमिहिन, सुकुम्बासीहरुको लागी जग्गा तथा लालपुर्जा वितरण गर्ने गृहकार्य गर्यो तर लालपुर्जा हुनेखाने, सम्भ्रान्त बर्गले पाए थवइ जस्ता गरिवले न जग्गा पाए न लालपुर्जा नै। यतिसम्म कि सरकारवाट उनिहरुले सहानुभूति समेत पाउन सकेनन।
कोरोना माहामारीको पीडा सवैभन्दा बढी यही बर्गले भोग्नुपर्यो। महामारी कै कारण कयौँ मजदुरले काम गुमाए, थवइ जस्ता परिवारले कला थन्क्याए र राहतको पर्खाइमा कयौ दिन भोकै बसे तर थवइ परिवार सधै ओझेलमा नै परे।
कोरोना माहामारीमा कयौ रात पानी मात्र पिएर सुतेको राधादेवीको अनुभव छ। हातमा ठेला उठाएर बनाइएका सिलौटा, जाताहरु त्यतिकै थन्क्याउन बाध्य बन्दा रोगभन्दा भोकले मर्ने अवस्था आएको उनी बताउँछिन्। -न्युजकारखाना