बुटवल- बुटवलमा गाईको संरक्षण गर्ने उदेश्यले नन्दिनी गौ संरक्षण केन्द्र स्थापना गरिएको छ। गाईलाई चरण क्षेत्र सहित गाईको स्याहार-सुसार र अध्ययन अनुसन्धान गर्ने गरि गौ संरक्षण केन्द्र स्थापना गरिएको हो। शिवनगर सामुदायिक वन क्षेत्रको करिब ९ बिगाहा क्षेत्रफलमा गौ संरक्षण स्थापना गरिएको बुटवल उपमहानगरले जनाएको छ।
लक्ष्मी पूजाको अवसर पारेर बुटवल उपमहानगर प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, मुक्तिनाथ धाम बुटवलका ब्रह्मनिष्ठ शन्त शिरोमणी लोकानन्द स्वामी र सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष नारायणबहादुर घिमिरे तथा कांग्रेस बुटवलका सभापति पाण्डेले एकसाथ शुभारम्भ गरेका हुन्।
भविष्यमा गौ अनुसन्धान केन्द्र, पञ्चगब्य उत्पादन र अध्ययन स्थलका रुपमा विकास गर्ने अवधारणा सहित गुरूयोजना बनाएर गौ संरक्षण केन्द्र स्थापना गरिएको बुटवलका प्रमुख सुवेदीले जानकारी दिए।
केन्द्रमा तत्कालै बुटवलका सडकमा रहेका छाडा चौपाय (गाई,गोरु) लगिने र चरण क्षेत्र विस्तार गरिने वनका अध्यक्ष घिमिरेले बताए।