काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा पहिलाे विदेश भ्रमणबाट मुख्य तीन कुरामा उत्साहित भएर फर्किएका छन्। असार २९ गते पाँचौं पटक प्रधानमन्त्री देउवा पहिलाेपटक विदेश भ्रमणबाट स्वदेश फर्किएका छन्।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औं सम्मेलनमा भाग लिई बेलायतबाट बिहीबार स्वदेश फर्किएका देउवा गठबन्धन सरकार पूरै समय टिक्ने, अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता चाँडै अनुमोदन हुने र भारतसँगको द्विपक्षी सम्बन्ध सुदृढ बनाउन दुई देशबीच उच्चस्तरीय भ्रमण हुनेमा उत्साहित देखिएका हुन्।
प्रधानमन्त्री देउवाले हालको सत्तारुढ दलहरुको गठबन्धन पूरै समय रहने र यसमा शंका गर्न नहुने स्पष्ट गरे। उनले भने, 'गठबन्धन पूरै समयसम्म रहन्छ। गठबन्धनका सम्बन्धमा कुनै किसिमको शंका आवश्यक छैन।'
देउवा सर्वोच्च अदालतको परमादेशपछि असार २९ गते पाँच दलीय गठबन्धनका तर्फबाट प्रधानमन्त्री भएका थिए। सरकारमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सहभागी छन्।
उनका अनुसार दुई मुलुकबीच चाँडै उच्चस्तरीय भ्रमण हुनेछ। कोप सम्मेलनका क्रममा प्रधानमन्त्री देउवासँगको भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाल आउने आशय व्यक्त गरेका थिए।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले कोप सम्मेलनका क्रममा छिमेकी भारतीय समकक्षी नरेन्द्र मोदीसँग महत्त्वपूर्ण विषयमा छलफल भएको जानकारी दिए। उनका अनुसार दुई मुलुकबीच चाँडै उच्चस्तरीय भ्रमण हुनेछ। कोप सम्मेलनका क्रममा प्रधानमन्त्री देउवासँगको भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाल आउने आशय व्यक्त गरेका थिए।
परराष्ट्र मामिलाका जानकारहरूका अनुसार यतिबेला नेपाल र भारतबीच कूटनीतिक सम्बन्धमा विश्वासको संकट छ। कालापानी लगायतका भूमिको नक्सा समेटेर नेपालको नक्सा सार्वजनिक गरेपछि पूर्ववर्ती केपी ओली सरकारका पालामा दुई देशबीचको सम्बन्धमा केही तिक्तता आएको थियो।
नयाँ सरकार गठन हुने बित्तिकै सम्बन्ध सुधारको अपेक्षा गरिए पनि दार्चुलास्थित महाकाली नदीमा राखिएको तुइन भारतीय सुरक्षा निकाय एसएसबीले काटिदिँदा नदी पार गरिरहेका रहेका एक जना नेपाली नागरिकको डुबेर मृत्यु भएपछि सम्बन्धमा केही अस्पष्टता कायम भएको थियो। यद्यपि यसबीचमा भारतका तर्फबाट सत्तारुढ दल भाजपा नेताले नेपाल भ्रमण गरेका छन् भने नेपाली कांग्रेसका नेताले पनि भारत भ्रमण गरेर सम्बन्ध सुदृढ बनाउने प्रयत्न गरेका छन्। अब दुई देशबीच उच्चस्तरीय भ्रमण हुने भएकाले देउवा उत्साहित देखिएका हुन्।
प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्रीसँग नेपाल भ्रमणबारे कुराकानी भएको र उनी नेपाल आउन उत्सुक रहेको जानकारी दिए। उनले भने, 'मैले भारतीय प्रधानमन्त्रीलाई तपाईं नेपाल आउनुस् हामी स्वागत गर्छौं भनें। नेपालका पशुपतिनाथ, मुक्तिनाथ घुम्न मैले आग्रह गरें, धार्मिक क्षेत्रहरुको भ्रमण पनि हुन्छ, आउनुस् भनेर मैले भनेको छु र उहाँले आफू नेपाल आउन तयार रहेको बताउनुभयो, मलाई पनि भारत भ्रमणमा आउनुस् भन्नुभएको छ।'
नेपालमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदन गर्ने या नगर्ने भन्नेमा विवाद छ। यद्यपि देउवा अब एमसीसी चाँडै पारित हुनेमा विश्वस्त देखिएका छन्।
प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) का उपकार्यकारी प्रमुखसँग भएको भेटघाटका क्रममा पनि नेपाल एमसीसीको पक्षमा रहेको र आवश्यक प्रक्रिया पूरा गरेर चाँडै टुंगो लगाउने प्रतिबद्धता जनाएका थिए। भेटबारे जानकारी दिँदै देउवाले भने, 'उहाँले एमसिसी कहिले पास हुन्छ भन्नुभएको थियो। मैले भने गठबन्धनसमक्ष छलफल गरेर हामी छिट्टै प्रक्रिया पुर्याएर निष्कर्षमा पुग्छौं भनेको छु।' उनले अनुमोदनका लागि हस्ताक्षर गरेरै पठाएको पनि जानकारी दिएका थिए।
देउवाले भने, 'यसमा प्रचण्डजीले पनि हस्ताक्षर गर्नुभएको छ, संसद् स्थगन भएको यही कारण होइन अन्य कारणले हो, कतिपय विषयलाई अध्यादेशमार्फत सम्बोधन गर्नुपर्ने भएकाले स्थगन भएको हो।'