काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवालेअमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झाौता संसद्बाट चाँडै अनुमोदन हुने बताएका छन्। बेलायत भ्रमणका क्रममा आफूले एमसीसीका उपकार्यकारी प्रमुखसँग भएको भेटका क्रममा नेपाल एमसीसीको पक्षमा रहेको र आवश्यक प्रक्रिया पूरा गरेर यसलाई चाँडै टुंगो लगाउने बताएको देउवाले जानकारी दिए।
बेलायतबाट स्वदेश फर्कने क्रममा बिहीबार त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग भने, 'उहाँले एमसीसी कहिले पास हुन्छ भन्नुभएको थियो, मैले भने गठबन्धनसमक्ष छलफल गरेर हामी छिट्टै प्रक्रिया पुर्याएर निष्कर्षमा पुग्छौं भनेको छु। हामीले हस्ताक्षर गरेरै पठाएको भनेको छु यसमा प्रचण्डजीले पनि हस्ताक्षर गर्नुभएको छ।' देउवाले एमसीसीकै कारण संसद् स्थगन नभएको बताए। उनले भने, 'संसद् स्थगन अन्य कारणले भएको हो। कतिपय विषयलाई अध्यादेशमार्फत सम्बोधन गर्नुपर्ने भएकाले स्थगन भएको हो।'
गठबन्धन सरकार चुनावसम्मै रहने दाबी
देउवाले गठबन्धन सरकार चुनावसम्मै रहने दाबी गरेका छन्। ‘गठबन्धन पूरै समयसम्म रहन्छ। गठबन्धनका सम्बन्धमा कुनै किसिमको शङ्का उपशङ्का आवश्यक छैन', उनले भने।
देउवाले बेलायतमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग एयरस्पेसलगायत देशका विभिन्न समस्याका बारेमा कुरा गरेको बताए। उनका अनुसार विशेषगरी भारतसँग हवाई रुटका सम्बन्धमा विस्तृत कुराकानी भएको छ। भैरहवाको लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि ‘एयरस्पेस’ का सम्बन्धमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल भएको उनले बताए।
भारतीय प्रधानमन्त्री मोदीसँग लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि भारतको भूमि हुँदै विमान अन्यत्र जानुपर्ने भएकाले त्यस सम्बन्धमा पनि कुरा गरेको बताउँदै नेपालप्रति भारतको सद्भाव देखिएको देउवाले बताए।
प्रधानमन्त्री देउवाले भारतले आफ्नो देशमा युरिया मलको अभाव हुँदाहुँदै नेपाललाई मल उपलब्ध गराएको बताउँदै भारतलाई धन्यवाद दिएको बताए। उनले बेलायती रक्षामन्त्रीले नेपाली गोर्खा सैनिकको समस्या समाधान गर्ने बताएको जानकारी दिए। सबै विषयमा कुरा भएको छ।' प्रधानमन्त्री देउवाले नेपालप्रति भारतको सद्भाव देखिएको बताएका छन्।
प्रधानमन्त्री देउवाले बेलायती प्रधानमन्त्री बोरिस जोनसनले नेपाललाई आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए। उनले नेपालमा हरित ग्याँस घटाउने कुरा आफूले कोप २६ मा राखेको बताउँदै सबै देशले यसमा सहयोग गर्ने र कार्बन उत्सर्जन कम गर्नेमा प्रतिबद्धता जनाएको बताए।
'नेपालमा युरिया मलको अभाव छ, भारतमा अभाव हुँदाहुँदै पनि नेपाललाई दिएकोमा मैले धन्यवाद दिएको छु।'
प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएको बताउँदै मोदीले आफूलाई भारत भ्रमणको निम्तो दिएको बताए।
'नेपालमा युरिया मलको अभाव छ, भारतमा अभाव हुँदाहुँदै पनि नेपाललाई दिएकोमा मैले धन्यवाद दिएको छु,' उनले भने, 'बेलायतको रक्षामन्त्रीको नेपालप्रति धेरै सद्भावना रहेछ। उहाँले अरूलाई घटाएर गोर्खा सैनिकको संख्या बढाएको छु भन्नुभयो।'
प्रधानमन्त्री देउवाले नेपालमा हरित ग्यास बढिरहेकोमा त्यो घट्नेमा आफू विश्वस्त रहेको बताएका छन्। उनले जलवायु परिवर्तनकै कारण नेपालमा आएको बेमौसमी बाढीले दुई सय बढी मानिसको ज्यान गएको बताएका छन्। सम्मेलनमा आफूले यी सबै कुरा उठाएको देउवाले जानकारी दिए।
उनले नेपाल र भारतबीच चाँडै उच्चस्तरीय भ्रमण हुने पनि बताए। देउवाले भने, 'मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल आउनुस् भनेको छ', उहाँले आउँछु भन्नुभएको छ, 'मलाई पनि भारत आउनुस् भन्नुभएको छ।'
सम्मेलनकै क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि नेपालको सम्बन्धका बारेमा संक्षिप्त कुराकानी भएको जानकारी प्रधानमन्त्री देउवाले दिए।
प्रधानमन्त्री देउवाको स्वागतका लागि विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री बालकृष्ण खाँण, रक्षामन्त्री डा मिनेन्द्र रिजाल, परराष्ट्रमन्त्री नारायण खड्का, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विमानस्थल पुगेका थिए। प्रधानमन्त्रीको स्वागतका लागि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, मुख्यसचिव शङ्करदास वैरागी, सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख पनि विमानस्थल पुगेका थिए।