काठमाडौं– सर्वोच्च अदालतले संवैधानिक निकायमा नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइमा प्रधानन्यायाधीशको उपस्थितिका सम्बन्धमा भएको विवादलाई संवैधानिक इजलासमा पठाएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संवैधानिक इजलास कार्य सञ्चालन नियमावलीको नियम १७ (२) ख बमोजिम संयुक्त इजलासमा विचाराधीन डा. गणेश रेग्मी र दीपकविक्रम मिश्रको रिट/मुद्दा संवैधानिक इजलासमा पठाउने निर्णय गरेका हुन्।
अहिले न्यालाय शुद्धीकरणका लागि प्रधानन्यायाधीशको राजीनामा मागिरहेका कानुन व्यवसायीले राजीनामा माग्नुको एक कारण संवैधानिक नियुक्ति सम्बन्धी मुद्दामा न्यायिक अवरोध गरेको भनिरहेका छन्। यहीं बेला प्रधानन्यायाधीश जबराले यो विवादलाई संवैधानिक इजलासमा पठाउने निर्णय गरेका छन्।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले प्रशासनिक निर्णयअन्तर्गत रिट निवेदकको मागअनुसार प्रधानन्यायाधीशले संवैधानिक इजलासमा मुद्दा पठाउने निर्णय गरेको बताए।
रेग्मी र मिश्रले प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास संविधानले परिकल्पना नगरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। जसमा न्यायाधीश हरि फुयाँलको एकल इजलासले मुद्दा किनारा नलागेसम्म सुनुवाइ नै स्थगित गर्न आदेश दिएको थियो।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले प्रशासनिक निर्णयअन्तर्गत रिट निवेदकको मागअनुसार प्रधानन्यायाधीशले संवैधानिक इजलासमा मुद्दा पठाउने निर्णय गरेको बताए।
निवेदकको विरोधपछि प्रधानन्यायाधीश जबराले मुद्दाको सुनुवाइमा आफू विदामा बस्ने घोषणा गरेका थिए। यसविरुद्ध अधिवक्ताद्वय रेग्मी र मिश्रले दायर गरेको रिटमा न्यायाधीश हरि फुयालले प्रधानन्यायाधीश बस्ने वा नबस्ने टुंगो नलागेसम्म सुनुवाइ नगर्न अन्तरिम आदेश दिएपछि संवैधानिक नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ रोकिएको थियो। विरोध भएपछि संयुक्त इजलासमा पठाइएको थियो। संयुक्त इजलासमा विचाराधीन संवैधानिक नियुक्ति सम्बन्धी मुद्दामा प्रधानन्यायाधीश रहने वा नरहने भन्ने विवाद अब संवैधानिक इजलासमा पुगेको हो।