काठमाडौं– चीनले नेपाललाई अनुदान सहायतास्वरुप थप १६ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार एक कार्यक्रमका बीच चिनियाँ राजदुत होऊ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई सो खोप हस्तान्तरण गरेकी हुन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाले चीन सरकारले चालू आर्थिक वर्षभित्र सबै नेपालीलाई खोप दिइसक्ने योजनालाई पूरा गराउन सहयोगस्वरुप कोभिडविरुद्धको खोप उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गरे।
उनले त्यस अवसरमा हालसम्म चीन सरकारले नेपाललाई ३४ लाख सो खोप अनुदान सहायताका रुपमा उपलब्ध गराएको पनि जानकारी दिए।
चिनियाँ राजदुत यान्छीले नेपाल सरकारको कोभिडविरुद्धको अभियानमा साथ दिन चीन सरकारले आवश्यक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन्। उनले दुई दिनपछि चिनियाँ सेनाले नेपाली सेनालाई तीन लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराउने जानकारीसमेत दिइन्।
राजदूत यान्छीले कोभिड निर्मूल गरी नेपालको सामाजिक, आर्थिक क्षेत्रलाई सहज बनाउन चीन सरकारले सकेको योगदान पु¥याउने प्रतिबद्धतासमेत व्यक्त गरिन्।
स्वास्थ्यमन्त्री खतिवडाले चीन सरकारले नेपालमा कोभिड नियन्त्रणका लागि हालसम्म स्वास्थ्य सहायता सामग्रीहरु पनि अनुदान सहायता स्वरुप उपलब्ध गराउँदै आएकोमा धन्यवाद व्यक्त गरे। नेपालले हालसम्म चीनबाट खरिद प्रक्रियामार्फत १ करोड कोभिडविरुद्धको खोप ल्याइसकेको छ।