काठमाडौं- मुलुकका विभिन्न ठाउँमा भएका सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार जाजरकोटको नलगाड नगरपालिका-५ गाजीमेला भन्ने स्थानमा कर्णाली प्रदेश ०२ ००१ त ०२९४ नम्बरको ट्याक्टर भीरबाट तीन सय मिटर तल खसेर मंगलबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ट्याक्टर चालक नलगाड नगरपालिका-७ दल्ली बस्ने ३५ वर्षीय चंखलाल वक, ट्याक्टरमा सवार तारीगाउँ बस्ने २५ वर्षीय सुरेश खत्री र सोही ठाउँ बस्ने ६२ वर्षीय दल बहादुर खत्री छन्। दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालक नलगाड नगरपालिका-७ दल्लि बस्ने १७ वर्षीय वनोद परियारलाई उपचारका लागि अस्पतालतर्फ पठाइएको छ।
यस्तै धादिङको धुनिबेसी नगरपालिका-१ ककरेस्थित सडकमा बा.४ ख ५८४८ नम्बरको गाडी अनियन्त्रित भई पल्टिएर मंगलबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५२ वर्षीया साइँली तामाङ र ५५ वर्षीय रुमाल तामाङ छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको मनमोहन अस्पताल स्वयम्भू काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
यसैगरी बढैयाताल गाउँपालिका-६ चपला नाला नजिक सडकमा ना.६ ख १२६० नम्बरको बसले साइकललाई ठक्कर दिँदा साइकलयात्री बढैयाताल गाउँपालिका-३ सतपतिया बस्ने ३७ वर्षीया सुनिता थारुको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका लागि नेपालगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।