काठमाडौं- उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन खानी विभाग चोक र टुकुचामा नयाँ ट्राफिक लाइट जडान गरी आजबाट सञ्चालनमा ल्याइएको छ। ट्राफिक प्रहरी महाशाखाले एनसेलसँग समन्वय गरी खानी विभाग र काठमाडौं महानगरपालिका-१ को सहयोगमा टुकुचामा नयाँ ट्राफिक लाइट जडान गरेको हो।
खानी विभाग चोकमा जडान गरेको ट्राफिक लाइट महाशाखाका प्रमुख एसएसपी जनक भट्टराई र एनसेलका सुरक्षा प्रमुख सम्पत अर्यालले स्विच अन गरी संयुक्त रूपमा उद्घाटन गरेका छन्।
कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले उपत्यकाको सवारी चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिँदै आएको बताए।
'हामी ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने अभियानमा छौं, यसको लागी विभिन्न निकायहरूसँग निरन्तर समन्वय र सहकार्य गर्दै आइरहेका छौं। आज जडान भएका लाइट त्यसैको परिणाम भएको र आगामी दिनमा अन्य चोकमा समेत ट्राफिक लाइट राख्न हातेमालो गर्ने योजना समेत रहेको छ।'
एनसेलका सुरक्षा प्रमुख सम्पत अर्यालले एनसेलको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै आम सेवाग्राहीलाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्या, ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
पछिल्लो समय ट्राफिक प्रहरीले प्रविधिलाई जोड दिँदै ट्राफिक लाइट जडानमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अन्य स्थानमा ट्राफिक लाइट जडान र अन्य कार्यमा सहकार्य एवं सहयोगी बन्ने प्रतिबद्धता व्यक्त गरे।