म्याग्दी- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पत्रकारिता क्षेत्र बलियो बनाउन प्रेस स्वतन्त्रता र पत्रकारिताको विकासमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।
प्रेस सेन्टर म्याग्दीको चौंथो जिल्ला सम्मेलनलाई बेनीमा उद्घाटन गर्दै मन्त्री पौडेलले सकारात्मक परिवर्तनकालागि सञ्चारक्षेत्रको रचनात्मक आलोचना र खबरदारी आवश्यक रहेको हुँदा लोकतन्त्रको संस्थागत विकास र देशको समृद्धिका लागि पत्रकारहरुले कलम चलाउनुपर्ने बताएका हुन्।
उनले मुलुकको लोकतान्त्रिक आन्दोलनमा सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै सञ्चार क्षेत्रको समग्र विकास र सुशासनका लागि यो सरकारले काम गरेर देखाउने बताए ।
मन्त्री पौडेलले म्याग्दीको विकासका साथै जलविद्युत्, पर्यटन, कृषि, पशुपालन क्षेत्रमा रहेको सम्भावना तथा समस्या उजागर गरी समाधानका उपाय पहिल्याउन पत्रकारितामार्फत् भूमिका निर्वाह गर्न पत्रकारलाई अनुरोध गरेका छन्।
कार्यक्रममा प्रेस सेन्टर म्याग्दीले स्थापना गरेको ‘कृष्ण सेन-मदन स्मृति’ पत्रकारिता पुरस्कार पत्रकार धिरन खत्रीलाई प्रदान गरिएको थियो। सेन्टरले वि.स. २०७१ मा द्वन्द्वकालमा दिवंगत पत्रकार कृष्ण सेन इच्छुक र म्याग्दीका सहिद मदन के.सीको स्मृतिमा एक लाख रुपियाँको कोष स्थापना गरेको थियो ।
यसका साथै मन्त्री पौडेलले म्याग्दीका शिक्षक, विद्यार्थी र शिक्षा विकास तथा समन्वय एकाइका कर्मचारीहरुसँगको भेटघाटका क्रममा मन्त्री पौडेलले शैक्षिक क्षेत्रको समस्या समाधानमा सरकारले प्राथमिकता दिने बताएका छन् ।