काठमाडौं– लोकप्रिय गायक शिव परियारको स्वर एवं सङ्गीतकार चण्डीप्रसाद काफ्लेको सङ्गीतमा तयार पारिएको संस्कृत गीत ‘मम भाषा संस्कृतम्’ सार्वजनिक गरिएको छ। गीतका रचनाकार स्वामी केशवानन्द (केएन स्वामी) हुन्।
उनकै फिसियल युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको गीतको भिडियोमा विभिन्न जातजातिको झाँकी देख्न सकिन्छ। यस्तै गायक शिव परियार स्वयंले अभिनय गरेका छन्। भिडियोको निर्देशन सूर्यमणि जम्मरकट्टेलले गरेका हुन्।
गीतमा श्रीसंगीत पाठशालाका विद्यार्थीले कोरस गायनमा साथ दिएका छन्। म्युजिक भिडियोमा रवीन्द्र जमरकट्टेल, अमृत गौतम, स्वस्तिका जमरकट्टेल, नवीन ढकाल, सञ्जिता देवकोटा, देवन भुसाल, अनिषा जमरकट्टेल, विष्णु पाण्डे, विष्णुप्रसाद जमरकट्टेल र शिव सापकोटाले पनि अभिनय गरेका छन्।
गीतमा मेरो भाषा संस्कृत हो, संस्कृत जनभाषा र देवभाषा एवम् मातृभाषा संस्कृतलाई संरक्षण गर्नुपर्ने भाव व्यक्त गरिएको छ। यस्तै हृदय, मन र आत्मा भाषा पनि संस्कृत हो भनिएको छ। पूर्वज र मुनिजनले सेवित संस्कृतमा वेद, उपनिषद् र दर्शन रचना गरिएको सन्दर्भ पनि गीतमा व्यक्त गरिएको छ।
गीतमार्फत संस्कृत भाषाको प्रयोगमा सचेतना जगाउन खोजिएको केएन स्वामीले बताए। उनले भने, ‘भाषा सिक्न गीतसङ्गीतको पनि विशेष महत्त्व हुन्छ। कतिपयले संस्कृत भाषालाई सीमित जात र सम्प्रदायको भनेर यसको महत्त्वलाई खुम्च्याउने प्रयत्न गरिरहेका छन्। त्यसैले पनि संस्कृतको क्षेत्र र महत्त्व विशाल रहेको तथ्य उजागर गर्न पनि गीतसङ्गीतको प्रयोग गरिएको हो।’ केएन स्वामीकै संयोजनमा यसअघि 'फुलबुट्टे सारी'को संस्कृत ‘भर्सन’ तयार पारी सार्वजनिक गरिएको थियो।