ग्लास्गो (स्कटल्यान्ड)- संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन कोप-२६ नै अपांगमैत्री नभएको पाइएको छ। अपांगमैत्री व्यवस्था नभएकै कारण सम्मेलनमा सहभागी हुन सम्मेलनस्थलसम्म ह्विलचेयरमा पुगेकी इजरायलकी ऊर्जामन्त्री करिन इल्हररलाई हलबाहिर २ घण्टा कुराएर फर्काइएको हो।
सम्मेलनमा अपांगमैत्री व्यवस्था नभएका कारण मन्त्रीलाई फर्काइएपछि इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटको प्रतिनिधिमण्डलले आफ्ना मन्त्रीलाई 'अपमानपूर्ण' व्यवहार गरिएको भन्दै 'कम्प्लेन' गरेको बताइएको छ। प्रधानमन्त्री नाफ्तालीले आफ्ना मन्त्री इल्हररलाई सम्मेलनस्थलसम्म पुग्ने व्यवस्था नगरिए आफूले सम्मेलन बहिष्कार गर्ने चेतावनी दिएका छन्।
ह्विलचेयरमा सम्मेलनस्थलसम्म पुगेकी मन्त्री इल्हररले दुई घण्टा कुरेर फर्कनुपर्ने अवस्था आएकोप्रति इजरालयका लागि बेलायती राजदूत निल विगनले ट्विट गर्दै क्षमायाचना गरेका छन्। 'कोप सम्मेलनमा सबैका लागि समावेशी होस् भन्ने हामी चाहन्छौँ,' उनले लेखेका छन्।
इजरायली सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै मन्त्री इल्हररले सम्मेलनस्थलमा प्रवेश गर्न नसकेको बताइन्। ह्विलचेयरमार्फत् सम्मेलनस्थल पुग्न सकिने व्यवस्था नगरेका कारण आफू फर्कनुपरेको उनको भनाइ छ। इजरायली ऊर्जा मन्त्रालयले मन्त्री इल्हररलाई दुई घण्टासम्म बाहिरै कुराएर ८० किलोमिटर टाढाको होटलमा फर्काइएको बताएको छ।
बेलायती विदेश मन्त्रालयले मन्त्री इल्हररले सम्मेलनस्थल नपुगी फर्कनुपर्ने अवस्था आउनु दुखद् भएको बताएको छ। बेलायती मन्त्रालयले भने सबैका लागि पहुँचयोग्य सम्मेलनस्थल बनाएको दाबी गर्दै के-कति कारणले मन्त्री इल्हरर फर्कनुपरेको हो सो सम्बन्धमा जानकारी लिने बताएको छ।
इजरायली पक्षले यो विषय बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि जानकारी गराएको छ। जोन्सनले इजरायली प्रधानमन्त्रीसहित इल्हररलाई भेटका लागि बोलाएका छन्।