काठमाडौं- आफ्नो १५ वर्षको कतार बसाइको अनुभव समेटिएको प्राध्यापक डा. मोहम्मद रमजान अलि मियाको ‘मैले देखेको कतार’ पुस्तक सार्वजनिक भएको छ। सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनले हरितगृह लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयको हातामा रहेको सभाहलमा एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरेका हुन्।
लेखकको यो ३७औं कृति हो। कतारबारे मात्रै उनले १० वटा पुस्तक प्रकाशन गरिसकेका छन्। उपराष्ट्रपति पुनले पुस्तकमा लेखकले नेपाल र कतारको कूटनीतिक, आर्थिकलगायत सम्बन्ध र नेपाली कामदारले कतारलाई समृद्ध बनाउन गरेको योगदानको चर्चा गरेको बताए। कतारबारे जान्न चाहनेलाई यो पुस्तक अति उपयोगी हुने उनको भनाई थियो। ‘कतारबारे सुनिएको भन्दा यस पुस्तकमा वास्तविक कतार झल्केको छ,’ उपराष्ट्रपति पुनले भने।
लेखक मियाको बौद्धिकताको खुलेर प्रशंसा गरेका उनले आफूले पनि नेपाली श्रमिकको रगत पसिनाले निर्माण भएको विकसित र समृद्ध कतार हेर्न चाहेको बताए।
मुस्लिम आयोगका अध्यक्ष शमिम मिया अन्सारीले लेखक मिया कतारमा रहेका नेपाली श्रमिक तथा आम नेपालीका सुख दुःखका साथी भएको टिप्पणी गरे।
संविधान सभा सदस्य मोहम्मद जाकिर हुसैनले यस पुस्तकले कूटनीतिक क्षेत्रमा तरङ्ग ल्याउने र वास्तवमै अब कतारले नेपाल बनाउन मार्ग प्रशस्त गर्ने धारणा राखे।
ओमनबाट भर्खरै कार्यकाल सकेर फर्किएकी पूर्वराजदूत डा. शर्मिला पराजुली ढकालले यो पुस्तकले कतारका सत्य बोले पनि सबै अरब राष्ट्रहरूको समग्र चित्रण गरेको बताइन्।
पुस्तकमा कतारमा रहेका नेपालीहरूको इतिहास, नेपाली श्रमिकको योगदान, कतारको इतिहास र विस्तृत परिचय नेपाल कतार बिच सम्भावना भएका दर्जनौं विषय समेटिएको लेखक मियाँले बताए। उनले प्राकृतिक रूपमा सबै कुराहरू भएर पनि विकासमा केही नभए जस्तो नेपाल र प्राकृतिक रूपमा केही कुराहरू मात्र भएर पनि विकासमा सबै भए जस्तो कतारमा सन २००७ अप्रिल पछि देखेका कुरालाई समेटेको बताए।
‘मैले देखेको कतार’ पुस्तकलाई घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको छ भने यस पुस्तकको अरबिक र अङ्ग्रेजी संस्करण पनि छिट्टै आउने अध्यक्ष कमल ढकालले जानकारी दिए। ‘पुस्तक धेरै प्रकाशित गरियो तर यो पुस्तक अन्य भन्दा नितान्त भिन्न र फरक छ,’ ढकालले भने।