काठमाडौं- १६ दिनदेखि बेपत्ता भएका नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ का पूर्व क्षेत्रीय सदस्य रेशमराज तिमल्सेनाको शव फेला परेको छ।
जिल्लाको कमलबजार नगरपालिका-५ का तिमिल्सेना गत असोज ३१ गते बेपत्ता भएका थिए। उनको शव अछामको कमलबजार-६ गौटाणको जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी तुलाराम अर्यालले जानकारी दिए। उनका अनुसार शव बाँसको झाडीमा फालिएको अवस्थामा भेटिएको हो।
‘शव कुहिन थालेको अवस्थामा छ। शरीरमा लागेका चोटहरु देख्न नसकिने अवस्था बनेको छ,’ उनले नेपाल समयसँग भने। कात्तिक ६ गते आफन्तले उजुरी दिएपछि प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको थियो। ‘९ दिनदेखि हामी खोजी रहेका थियौँ, त्यसैक्रममा जंगलमा दुर्गन्ध फैलिएको थाहा पाएपछि खोजी कार्य यही क्षेत्रमा केन्द्रित गरेका थियौँ। आज शव भेटियो। निकाल्दै छौँ,’ डीएसपी अर्यालले भने।
कांग्रेसका स्थानीय नेता रेशमराजको हत्या नै भएको हुन सक्ने प्रहरीको अनुमान छ। ‘घटनाको प्रकृति हेर्दा हत्या भएजस्तो देखिन्छ, यद्यपि पोस्ट मार्टम रिपोर्टपछि थप कुरा थाहा हुनेछ, त्यसपछि हाम्रो अनुसन्धान पनि अघि बढ्ने छ,’ डिएसपी अर्यालले नेपाल समयसँग भने।
घरबाट सामान्य कामले बजार निस्किएका रेशम असोज ३१ पछि परिवारसँग सम्पर्कविहीन भएका थिए। 'तीन दिन बित्दासमेत फोन खबर नआएपछि हामी खोजी कार्यमा लागेका थियौँ,' रेशमराजका दाजु वेदप्रकाश तिमल्सैनाले भने। प्रहरीसँगै कांग्रेसका स्थानीय कार्यकर्ता र सञ्चारकर्मीको टोलीले दिनहुँ रेशमराजको खोजी गर्दै आएको थियो। रेशमराजका दाइ वेदप्रकाश स्थानीय पत्रकारसमेत हुन्।
मृतक रेशमराज नेपाली कांग्रेसको चौधौं महाअधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि चयन भएका थिए। उनी भुवनेश्वरी आधारभूत विद्यालय कुइकाको विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत हुन्।
उनी बेपत्ता भएदेखि नै खोजीमा जुटेका वेदप्रकाश प्रहरीले खोजीमा चासो नदेखाएको र पार्टीले समेत बेवास्ता गरेको आरोप लगाउँछन्। प्रहरी र पार्टीलाई पटक पटक आग्रह गर्दा पनि बेवास्ता गरेको उनले फेसबुकमा लेखेका छन्।
वेदप्रकाशको परिवार द्वन्द्वपीडित पनि हो। वेदप्रकाशले कात्तिक ९ गते फेसबुकमा स्टाटस लेख्दै भनेका थिए, 'द्वन्द्वमा मेरो घर लुटियो पार्टीले वास्ता गरेन। विस्थापित भयौँ पार्टीले हेरेन। कुइका गाविसका दुई कार्यकालका अध्यक्ष कान्छा बुवा द्वन्द्वको समयमा बेपत्ता हुनुभयो पार्टी बाट सहानुभूतिसम्म पाइएन। करिब ३ वर्षअघि मलाई र मेरो भाईलाई तत्कालीन सत्ता पक्ष नेकपाबाट यातना दिइयो त्यतिबेला पनि केही बाहेक कांग्रेसका अधिकांश जिम्मेवार नेता बेखबर भए। तर अछामी कांग्रेसका सबै होइनन् अधिकांश नेता बेखबर छन्। परिवारलाई सहानुभूति र पार्टीको सरकार भएको समयमा अछाम प्रहरीलाई सहयोग हुने गरि सशस्त्र प्रहरी र सिआईबी टोली पठाउन पहल गर्न जाँगर देखाउँदैनन् अनि मन खिन्न हुन्छ।'
तस्बिर : वेदप्रकाश तिमल्सैना