धनगढी- कैलालीबाट श्रोत नखुलेको करिव नौं लाख रुपैयाँ नगद र सुन तथा चाँदीको गहनासहित तीन जना पक्राउ परेका छन्।
जिल्लाको धनगढी उप-महानगरपालिका-४ स्थित होटल अमन प्लाजाबाट उनीहरु पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका-१ कोटदेवलका २२ वर्षीय मुकेश खड्का, १८ वर्षीय किरण खड्का र २४ वर्षीय नारायण खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।
उनीहरुको साथबाट श्रोत नखुलेको ८ लाख ६९ हजार नेपाली रुपैयाँ, तीन हजार दुई सय भारतीय रुपैया, सुनको जस्तो गहना ३४.३६० ग्राम र चाँदीको जस्तो गहना ७३७.८७ ग्राम बरामद भएको प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।
गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। होटलमा बसीरहेका उनीहरुलाई चेकजाँच गर्दा नगद र गहना बरामद भएको विष्टले बताए।
उनीहरुलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको उनले बताए।