आइतबार, वैशाख ७, २०८२

खोप लगाउन भन्दा प्रमाणपत्र लिन सकस

वैदेशिक रोजगारीमा जाने मात्र हैन विदेश जाने हरेकले खोप लगाएको प्रमाणपत्र लिने गरेका छन्। खोप लगाएको प्रमाण क्युआर कोडबाट थाहा हुने प्रणाली नभएको स्थानमा वैदेशिक रोजगारमा जान समस्या छ।
 |  मंगलबार, कात्तिक १६, २०७८
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

मंगलबार, कात्तिक १६, २०७८

vianetvianet

काठमाडौं- कोरोना खोप लगाएको प्रमाणपत्र लिन सेवाग्राहीलाई असहज भएको छ। सुरुमा खोप लगाएको प्रमाणपत्र लिन सरकारले काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई मात्रै मान्यता दिएको थियो। त्यहाँ चाप बढेपछि निजामती कर्मचारी अस्पताल, पाटन अस्पताल र सशस्त्र प्रहरी अस्पतालबाट पनि प्रमाणपत्र दिन थालियो। 

triton college

ती अस्पतालमा प्रमाणपत्र लिनेको भीड बढेपछि सहज रुपमा उपलब्ध गराउन सरकारले क्युआर कोडमार्फत प्रमाणीकरण गर्ने व्यवस्था गरेको थियो। तर उक्त सेवा झन्झटिलो बनेको सेवाग्राही बताउँछन्। सोही कारण  स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखामा क्युआर कोड लिन आउनेको भीड बढेको छ। 

वैदेशिक रोजगारीमा जाने मात्र हैन विदेश जाने हरेकले खोप लगाएको प्रमाणपत्र लिने गरेका छन्। क्युआर कोडबाटै थाहा हुने प्रणाली नभएको स्थानमा वैदेशिक रोजगारीमा जान समस्या छ। 

‘वैदेशिक रोजगारीमा जान चाहने अधिकांश व्यक्तिलाई अनलाइन फाराम भर्न समस्या भएको पाइयो। नाम, जन्म मितिलगायतका सूचना गलत टाइप हुने गरेको छ,’ महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक झा भन्छन्, ‘त्यस्तो अवस्थामा हामीले पुनः फाराम भर्न आग्रह गरेका हुन्छौं तर मानिस फाराम अस्वीकृत हुने कारण नै नबुझी यहाँ आइपुग्दा भीड बढेको छ।’

कतिपय अवस्थामा विदेश जान उडानको समय २४ घण्टाभन्दा पनि कम हुँदा समस्या पर्ने गरेको छ। ‘व्यक्तिले फाराम भरेको चार घण्टामा सो डाटा  हाम्रो सिस्टममा आउँछ,’ झा भन्छन्, ‘थोरै आवेदन हुँदा तत्काल प्रतिक्रिया दिन सकिन्छ। डाटा सही छ भने एकैछिनमा क्युआर कोड बन्छ तर मिलाउनुपर्ने भए त्रुटि औंल्याएर सम्बन्धित व्यक्तिलाई खबर गर्छौं। तर फाराम भर्नासाथ कार्यालय आउँदा चाप बढेको छ।’

National life insurance

कोही बेलुका आठ बजेको फ्लाइटमा जान पाँच बजेतिर कार्यालय पुगेर क्युआर कोड बनाइमाग्न आउने गरेको उनी बताउँछन्। ‘कतिपयलाई डाटा मिलेको छैन भन्ने बुझाउँदा झगडै पर्ने गरेको छ,’ उनी भन्छन्, ‘मेरो टिकटको पैसा फिर्ता दिनुपर्छ भन्दै हामीसँग झगडा गर्छन्।’

 ‘हाम्रो सिस्टममा आएको आवेदनमा सही डकुमेन्ट भएमा हामीले प्रमाणीकरण गर्छौं सही नभए त्रुटि सच्याउन म्यासेज पठाउँछौं। तर मानिसहरु त्रुटि नहेरी क्युआर कोड भएन भन्दै विभागमै आइपुग्छन्।’ 

विदेश जान चाहने व्यक्तिले पहिला क्युआर कोड लिएर मात्र टिकट काटेमा वा कम्तीमा दुई दिनअघि क्युआर कोडको फाराम भरे समस्या न्यून हुने झा सुझाउँछन्। 

आइतबारको फ्लाइटमा साउदी जाने तय भएका महोत्तरीका राजु शाह शुक्रबार बेलुका पाँच बजे परिवार कल्याण महाशाखा पुगेका थिए। ‘मेनपावरले टिकट काटिसक्यो तर हाम्रो क्युआर आएकै छैन,’ उनले भने, ‘मेनपावरले कोड नभए कि फ्लाइट क्यान्सिल हुन्छ कि पैसा थप भन्छ।’ खोप पाउनुभन्दा खोप लगाउने प्रमाण लिन सकस भएको उनको दुस्खेसो छ।

नक्कली कार्डको बिगबिगी

क्युआर कोड प्रमाणीकरणका लागि नक्कली कार्ड पनि समस्या हुने गरेको छ। कतिपयले नेपालमा जोन्सन एन्ड जोन्सन खोप आउनुअगाडिको मिति राखेर सो खोप लगाएको कार्ड  बनाएका छन्।

‘कार्डको डाटा मिलेन भन्दा झगडा गर्छन्,’ झा भन्छन्, ‘त्यस्ता नक्कली कार्ड हामी कार्यालयमै राखिदिन्छौं।’ कोडका लागि विभागमा आउनेसँग भएको कुनै कार्डमा छाप नहुने, कुनैमा ब्याच नम्बर त कुनैमा अन्य समस्या देखिने गरेको छ। नक्कली खोपकार्ड, छाप बनाएर आफैंले सबै विवरण भरेर आउनेहरु पनि भेटिन्छन्।

विश्व स्वास्थ्य संगठनले मान्यता दिएको जुनसुकै खोप लगाएको भए पनि विदेश जानेलाई उक्त खोप लगाएको आधारमा रोक्न नमिल्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ।

कतिपय मुलुकले सो प्रावधान नमानेका कारण पनि समस्या भएको छ। कतिपय देशले भेरोसेलललाई मान्यता नदिएका कारण भेरोसेल खोप लगाएकाले पनि अन्य खोपको प्रमाणीकरणका लागि नक्कली कार्ड बनाएका भेटिन्छन्। नेपालमा धेरै लगाइएको खोप भेरोसेल हो। 

‘दैनिक झण्डै दुई दर्जन फेक कार्ड आउने गरेको छ,’ झाले भने। वैदेशिक रोजगारीको लागि जानेलाई म्यानपावरले क्युआर कोडका कारण फ्लाइट छुटे पनि पैसा तिर्न बाध्य बनाउने गरेको सम्बद्धहरु बताउँछन्। परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेकलाल कर्ण भन्छन्, ‘सरकारले सहजताका लागि गरेको यो काम कतिपय मानिसलाई झनै सकस भएको छ। अनलाइनबाट हुने काममा यसरी भौंतारिनु नपर्ने हो तर कतिपय मानिसले बुझेका छैनन्। कतिपयचाहिँ डकुमेन्ट फेक हुने वा बिग्रने समस्याले विभागमै आउनुपर्ने बाध्यता छ।’

डा. कर्णका अनुसार अब सबै पालिकाले नै रुजु गर्नमिल्ने प्रणालीको विकासमा स्वास्थ्य मन्त्रालयले काम गरिरहेको छ। तिहारअघि नै सबै स्थानीय पालिकाको स्वास्थ्य शाखाबाट क्युआर कोड रूजु गर्न सकिने व्यवस्था विकास गरिने तयारी रहेको कर्णले बताए।

कसरी भर्ने क्युआर कोड फाराम?

खोप लगाएको प्रमाणीकरण क्युआर कोडमार्फत चाहिएमा vaccine.mohp.gov.np लग इन गरी फारम भर्नुपर्ने हुन्छ। फाराम भर्दा सक्कली खोप कार्डको फोटो, क्युआर कोड लिनेको पासपोर्ट साइजको फोटो, पासपोर्ट वा कुनै सरकारी कागजको फोटो र एउटा कबुलियतनामा आवश्यक हुन्छ। यति कुरा पुर्‍याएर फाराम भरेपछि २४ घण्टाभित्र सिस्टममा आउँछ र त्यसको आधारमा विभागले प्रमाणीकरण गर्छ।

क्युआर कोड लिनेले समयमै फाराम नभरिदिँदा पनि समस्या हुने गरेको झा बताउँछन्। कतिपयले जुन दिनको टिकट हो त्यही दिन फाराम भर्ने गरेका छन्।  ‘थोरै आवेदन हुँदा त केही चाँडो गर्न सकिएला धेरै आवेदन हुँदा त समय लाग्छ,’ झा भन्छन्, ‘हाम्रो सिस्टममा आएको आवेदनमा सही डकुमेन्ट भएमा हामीले प्रमाणीकरण गर्छौं सही नभए त्रुटि सच्याउन म्यासेज पठाउँछौं। तर मानिसहरु त्रुटि नहेरी क्युआर कोड भएन भन्दै विभागमै आइपुग्छन्।’ 

कोरोनाविरुद्धको भ्याक्सिन लगाएको प्रमाणीकरण गर्न क्युआर कोड दिन थालिएको झण्डै तीन महिना भयो। तर खोप प्रमाणीकरणका क्रममा जनसाधारणलाई सकस मात्र थपेको छ। साउन २१ देखि स्वास्थ्य सेवा विभागअन्तर्गतको  परिवार कल्याण महशाखाले क्युआर कोडबाट खोप प्रमाणीकरण गर्न थालेको हो।


प्रकाशित: Nov 02, 2021| 10:40 मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्