बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सैनिक अदालत पठाएको मुद्दा जिल्लामै फर्काउन सर्वोच्चको आदेश, के हुन्छ २५ वर्ष कैदको फैसला?

सैनिक अदालत पठाएको मुद्दा जिल्लामै फर्काउन सर्वोच्चको आदेश, के हुन्छ २५ वर्ष कैदको फैसला?

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले जिल्ला र उच्च अदालतको आदेश कार्यान्वयन नगर्न र उक्त मुद्दा पुनः जिल्ला अदालतमा नै फर्काउन आदेश जारी गरेको हो।
 |  आइतबार, कात्तिक १४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १४, २०७८

काठमाडौं- चितवन जिल्ला अदालतले सैनिक अदालत पठाएपछि सैनिक अदालतले २५ वर्ष कैद सजाय सुनाएको मुद्दा पुनः जिल्ला अदालतमा नै फर्कने भएको छ। सैनिक जवानले गरेको हत्यासम्बन्धी मुद्दाको सुनुवाइ सैनिक अदालतमा गर्नका लागि चितवन जिल्ला अदालतले आदेश गरेको र पाटन उच्च अदालतअन्तर्गत हेटौँडा इजलासले समेत सदर गरेको उक्त मुद्दा पुनः जिल्लामा नै फर्किएको हो। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले जिल्ला र उच्च अदालतको आदेश कार्यान्वयन नगर्न र उक्त मुद्दा पुनः जिल्ला अदालतमा नै फर्काउन आदेश जारी गरेको हो। 

नेपालकी सेनाको ‘महेन्द्र दल गण’ शिवपुरीमा कार्यरत जवान गंगाराम ढकालले सोही गणका हुद्दा भरत गुरुङलाई गत साउन ७ मा चितवनको भरतपुर–१७ मा गोली हानी हत्या गरेका थिए। त्यसमा प्रहरीले अनुसन्धान गरेर जिल्ला सरकारी वकिलको कार्यालयले चितवन जिल्ला अदालतमा हत्या मुद्दा चलाएको थियो। 

सैनिक जवानले गरेको हत्यासम्बन्धी मुद्दालाई सैनिक अदालतमा सुनुवाइ गर्न चितवन जिल्ला अदालतले आदेश दिएको थियो। उक्त आदेशलाई पाटन उच्च अदालतको हेटौँडा इजलासले समेत सदर गरेको थियो। तर सर्वोच्च अदालतले भने उक्त आदेश कार्यान्वयन नगर्न आदेश जारी गरेपछि उक्त मुद्दा पुनः चितवन जिल्ला अदालतमा नै फर्किएको हो।  

मुद्दालाई सैनिक अदालत पठाउने जिल्लाको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले चितवन जिल्ला अदालतसमेतलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेको थियो। रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले उक्त मुद्दा चितवन जिल्ला अदालतमै फर्काउने अन्तरिम आदेश दिएको हो। 

भदौ १ मा थुनछेक आदेशका लागि सुनुवाइ गर्दै जिल्ला न्यायाधीश हेमन्त रावलले ढकाल र मुद्दासँग सम्बन्धित सक्कल फाइल सैनिक अदालत पठाउन आदेश दिएका थिए। 

सोही मुद्दामा भदौ १६ गते हतार हतार गरी समरी जनरल सैनिक अदालतले फैसला गर्दै ढकाललाई २५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो। ढकाल हाल जेलमा छन्। जिल्लामै उक्त मुद्दा फर्काउने सर्वोच्चको आदेशसँगै उक्त मुद्दा पुनः जिल्ला अदालतमा सुनुवाइ हुने भएको छ। जिल्ला अदालतमै मुद्दा फर्किएपछि सैनिक अदालतले गरेको २५ वर्ष कैदको फैसलासमेत खारेज हुने भएको छ।

यो मुद्दा गन चोरीसँगसमेत सम्बन्धित छ। ढकालले २०७५ पुसमा महेन्द्र दल गणबाट एसएमजी गन चोरी गरेका थिए। गणबाट गन हराएपछि खोजी सुरु भयो। निर्दोष दुई सैनिक सरोज तामाङ र लबकुमार गुरुङलाईलाई चोरीको आरोप लगाइयो। सैनिक अदालतले चोरी गरेको ठहर गर्दै सजाय सुनायो। उनीहरू दुवै जना जेल परे। तर साउनमा ढकालले गोली हान्न प्रयोग गरेको गनको बडी नम्बर नै र महेन्द्र दल गणबाट हराएको गनको नम्बर परेपछि गन समेत ढकालले नै चोरी गरेको ठहर भएको थियो।

यसपछि दुवै सैनिकलाई रिहाइ गर्न सैनिक अदालतले फैसला गरेको थियो। यो विषयमा नेपाल समयले शृंखलाबद्ध रूपमा समाचार प्रकाशन गरेको थियो। 

प्रकाशित: Oct 31, 2021| 18:39 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।