जेनेभा– प्रकृतिमा जलवायु परिवर्तनको नकारात्मक असरबारे प्रायः सबै परिचित छन्। तर, यसकै कारण विभिन्न देशले चुकाउनु परेको आर्थिक बोझबारे थोरैलाई मात्र थाहा हुन सक्छ।
राष्ट्रसंघको एक प्रतिवेदनअनुसार जलवायु परिवर्तनसँग सम्बन्धित जोखिमका कारण एशियामा विकसित र विकासोन्मुख देशहरुले अर्बौं डलर गुमाएका छन्। प्रतिवेदनअनुसार यस्तो जोखिमका कारण चीनले २३८ अर्ब अमेरिकी डलर गुमाएको छ। चीनपछि भारतले ठूलो मूल्य चुकाउनु परेको छ। जलवायु परिवर्तनसँग सम्बन्धित जोखिमका कारण भारतले अहिलेसम्म ८७ अर्ब डलर खर्च गरेको छ। त्यस्तै, जापानले ८३ अर्ब डलर र दक्षिण कोरियाले २४ अर्ब डलर गुमाएका छन्।
राष्ट्रसंघको वार्षिक प्रतिवेदन ‘एशियामा जलवायुको अवस्था’ तथ्यांक उल्लेख छ। प्रतिवेदनअनुसार सन् २०२० एशियामा सबैभन्दा बढी गर्मी भएको वर्ष हो। जलवायु परिवर्तनको अर्थ केबल विश्वव्यापी तापमान वृद्धि हुने भन्ने होइन। यसले साइक्लोन, बाढी पहिरो, खडेरी, हुरी बतास जस्ता प्राकृतिक घटनामा ठूलो असर हुन्छ। वैज्ञानिकहरुका अनुसार जलवायु परिवर्तनले साइक्लोनमा आउने तीब्रताले ठूलो विनाश गर्छ।
जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ बेलायतको ग्लास्गो सहरमा आइतबारदेखि सुरु भएको छ। सम्मेलनमा नेपाललगायत बिभिन्न देशका प्रतिनिधि सहभागी छन्।
विश्वमा जलवायु परिवर्तनले विभिन्न क्षेत्रमा पारेका गम्भीर असरलाई न्यून गर्ने विषयमा छलफल र आवश्यक रणनीति चाल्ने उदेश्यले सम्मेलन आयोजना भइरहेको छ।