काठमाडौं– नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै आइतबार सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ। केही वरिष्ठ अधिवक्तासहित वकिलहरू धर्नामा बसेका हुन्।
बारले विरोध कार्यक्रम कात्तिक १७ गतेसम्म जारी रहने जनाएको छ। वकिलहरूले हातमा कालोपट्टीसमेत बाँधेका छन्। वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले न्यायालय शुद्ध भयो भने राजनीति शुद्ध हुने भएकाले कालोपट्टीमा बाँधेर विरोधमा उत्रनुपरेको बताए। उनले भने, ‘संस्थागत शुद्धीकरणका लागि हामीले सुरुवात गरेका हौं।’
अर्का वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले न्यायिक शुद्धीकरण अभियानमा लाग्नुपरेको कारण जनताले निष्पक्ष न्याय पाऊन् भन्ने नै रहेको बताए। उनले संस्था वा अदालतप्रति नभएर प्रवृत्तिविरुद्ध आन्दोलित हुनुपरेको भनाइ राखे। उनले भने, हामी जनतावादी मान्छे। हाम्रो अरु कुनै उद्देश्य छैन जनतालाई शुद्ध न्यायबाहेक।’