काठमाडौं- नेपालले आज एएफसी यू २३ एसियन कप छनोटको अन्तिम खेल खेल्दैछ। ताजकिस्तानको केन्द्रीय रंगशालामा आज अपराह्न सुरु हुने खेलमा छनोटबाट बाहिरिइसकेका नेपाल र लेबनान भिड्न लागेका हुन्।
समूह बिमा रहेको नेपाल पुछारमा छ भने लेबनान पुछारबाट दोस्रो स्थानमा छ। यी दुवै टिमले सुरुआतका दुई खेलमा हार बेहोरेका कारण दुवै टिम छनोटबाट बाहिरिइसकेका छन्। र, दुवै टिमको शून्य अंक छ।
त्यसैले आजको खेल छनोटको औपचारिक खेलमात्र हुनेछ। यद्यपि आजको खेलमा जित निकाल्दै नेपाल छनोटमा सुखद अन्त्य गर्ने दाउमा हुनेछ। यता लगातार हार बेहोरेको लेबनानको लक्ष्य पनि जितकै हुनेछ।
समूह बी मा रहेको नेपाल अक्टोबर २५ मा भएको खेलमा इरान यू–२३ सँग ४–० गोलअन्तरको हार बेहोरेको थियो। त्यस्तै, अक्टोबर २८ मा भएको खेलमा नेपालले आयोजक ताजकिस्तानसँग ६–० गोलको हार बेहोरेको थियो।
नेपाललाई हराएका इरान र ताजकिस्ताले लेबनानलाई पनि हराएका हुन्। र, ती दुवै टोलीको समान ६–६ अंक छ। चार टिम सम्मिलित समूहमा ताजकिस्तान शीर्षस्थानमा छ भने इरान दोस्रो स्थानमा छ।
समूहको शीर्षस्थानमा रहेको टोलीले अर्को वर्ष उज्बेकिस्तानमा हुने एसियन यू २३ कप खेल्नेछ। त्यस्तै, दोस्रो स्थानमा रहेका उत्कृष्ट चार टिमले पनि एसियन कप खेल्नेछ।