काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलको शनिबार राति सम्पन्न खेलमा लिभरपुल ब्राइटोनसँग बराबरीमा रोकिएको छ। एनफिल्ड रंगशालामा लिभरपुलले अग्रता जोगाउन नसकेपछि घरेलु टिमले ब्राइटोनसँग २–२ गोलको बराबरी खेलेको हो।
तेस्रो मिनेटमै लिभरपुलका जोर्डन हेन्डरसनले गोल गरेर खेलमा अग्रता बनाएका थिए। उनलाई गोलका लागि मोहम्मद सलाहले पास उपलब्ध गराए।
त्यस्तै, खेलको २४औं मिनेटमा साडियो मानेले हेडमार्फत गरेका गोलपछि लिभरपुलले दुई गोलको अग्रता बनाएको थियो। पहिलो हाफमा मानेले अर्को गोल पनि गरेका थिए। तर, सो गोललाई भीएआरको सहायता लिएर रेफ्रीले मान्यता दिएनन्।
खेलको ४१औं मिनेटमा ब्राइटोनले एक गोल फर्कायो। एनोम मयुपुले डी बक्सबाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। यससँगै पहिलो हाफमा लिभरपुल २–१ गोलले अघि रह्यो।
दोस्रो हाफमा ब्राइटोनले पुन अर्को गोल थप्यो। लियोनाद्रो ट्रोसार्डले ६५औं मिनेटमा गोल गरेपछि खेल बराबरीमा आएको थियो। त्यसपछि दुवै टिमले गोल गर्न सकेनन्।
र, गएरातिको खेलसँगै लिभरपुलले प्रिमियर लिगमा २५०औं पटक दुई गोल वा यो भन्दा धेरै गोलको अग्रता बनाएको छ। तर, यसले ती खेलमध्ये छ खेलमा मात्र जित निकाल्न सकेको छैन। त्यसैको एक खेल शनिबार रातिको पनि हो।
यता ब्राइटोनले लिभरपुलविरुछ लगातार तीन खेलमा हार बेहोरेको छैन। यो बराबरीसँगै लिभरपुल २२ अंकका साथ दोस्रो स्थानमा छ। ब्राइटोन भने १६ अंकका साथ सातौं स्थानमा छ।