काठमाडौं– राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक कुवेती अब्दुल्लाह अलमुताइरी शनिबार काठमाडौं आइपुगेका छन्।माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाली टोलीलाई फाइनलसम्मको यात्रा तय गराएका अलमुताइरी त्यहींबाट कतार गएका थिए।
साफ च्याम्पियनसिपमा नेपाललाई पहिलो पटक फाइनल पुर्याएपछि उनले मुख्य प्रशिक्षकबाट राजीनामाको घोषणा गरेका थिए। त्यतिबेला उनले कहिल्यै नेपाल नफर्किने बताएका थिए। तर, अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाले अलमुताइरी र कतार फुटबल संघसँग सहकार्य गरेपछि उनी नेपाल फर्किएका हुन्।
२८ वर्षको साफ च्याम्पियनसिपको इतिहासमा नेपाललाई फाइनल पुर्याउने उनी पहिलो प्रशिक्षक बनेका छन्। असोज ३० गते भएको फाइनलमा नेपाली टोली भारतसँग ३–० ले पराजित भएको थियो। अलमुताइरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्फाका सदस्यसमेत रहेका नेपाली टोलीका व्यवस्थापक मधुसूदन उपाध्याय र रुपेश अधिकारीले स्वागत गरेका थिए।
नयाँ सम्झौताअनुसार उनी २०२४ सम्म नेपाली टोलीको प्रशिक्षक रहनेछन्।