काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी शनिबार नेपाल फर्कंदै छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा नेपाल फर्कन लागेको जानकारी दिएका हुन्।
‘हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा छु। नेपाल जाने विमानको पर्खाइमा छु,’ उनले भनेका छन्।
पछिल्लो पटक साफ च्याम्पियनसिपमा नेपाललाई पहिलो पटक फाइनल पुर्याएपछि उनले मूख्य प्रशिक्षकबाट राजीनामाको घोषणा गरेका थिए।
त्यतिबेला उनले कहिल्यै नेपाल नफर्किने पनि बताएका थिए। तर, अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाले अलमुताइरी र कतार फुटबल संघसँग सहकार्य गरेपछि उनी नेपाल फर्किएका हुन्।
उनले युसुफ मोहम्मदसँगको तस्बिर पोस्ट गर्दै नेपाल आउने जानकारी दिएका हुन्।