पर्सा- पर्सामा नाम र थर ढाँटेर प्रेममा पारेर बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका वडा नम्बर २१ बस्ने ३८ वर्षीय जाहिर अन्सारी रहेका छन्।
अन्सारीले उच्च शिक्षाको लागि वीरगन्जमा डेरा लिई बस्दै आएकी १९ वर्षीया युवतीलाई विकास यादव भनी परिचय ढाँटेर प्रेममा पारेका थिए। उनले आफू अविवाहित रहेको भनी विवाह गर्ने प्रलोभनमा पारेर दुई वर्षदेखि करणी गर्दै आएका थिए।
विभिन्न स्थानमा पटक-पटक करणी गरेको अन्सारीले आफ्नो मोबाइलमा अश्लील फोटो तथा भिडियो खिचेरका थिए। उनले भदौ २७ गते राति १० बजे पीडित युवती एक्लै भएको मौका छोपेर अश्लील फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल गरिदिने भन्दै डरत्रास देखाएर जबरजस्ती करणी गरेको प्रहरीले अनुसन्धानबाट खुलेको जनाएको छ।
पीडितको जाहेरेको आधारमा पर्सा प्रहरीले छानबिन गर्दै महानगरपालिका वडा नम्बर-८ स्थित भारतीय दूतावास अगाडीबाट अन्सारीलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता ओम प्रकाश खनालले बताए।
पक्राउ गरेको अन्सारीविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रवक्ता खनालले बताए।