काठमाडौं- कोरोना भाइरसको जोखिमका कारण विगत दुई वर्ष यता सुनसान रहेको मेला सुरु भएपछि पुष्प व्यवसायीहरू खुसी भएका छन्।
शुक्रबारबाट चार दिनसम्म चल्ने १४औं गोदावरी पुष्प प्रदर्शनी २०७८ सुरु भएसँगै पुष्प व्यवसायीहरू खुसी भएका हुन् ।
मेलामा ४४ वटा स्टल रहेका छन्। प्रदर्शनीमा सहभागी पुष्प व्यवसायी सुमन महर्जनले दुई वर्षपछि मेला हुँदा सबै व्यापारीहरूसँग भेट भएको र अब पुष्प व्यवसाय फस्टाउने बताए ।
उनले सयपत्री फूल नेपालमा धेरै उत्पादन भए पनि तिहारमा मात्रै देखिने क्षणिक व्यापारीहरूले भारतबाट आयात गर्दा नेपाली बजारमा फूलै नभइदिएको जस्तो भएको बताए। उनले भारतबाट ल्याएर बजारमा सस्तो दरमा बिक्री गरिदिँदा स्वदेशमा उत्पादन भएका फूल र मालाले बजार नपाएको बताए। उनले केही व्यापारीले आन्तरिक फाइदाका लागि भारतबाट फूल आयात गरिरहेको र सरकारले यसलाई रोक्नुपर्ने बताए।
पुष्प व्यवसायी महर्जनले भन्नुभयो, ‘शुक्रबारबाट सुरु भएको पुष्प मेलाका कारण व्यवसायी एकदमै खुसी छौं, किनभने दुई वर्षपछि यस्तो मेला भएको छ।'
उनले सबै व्यवसायी एकै ठाउँमा हुँदा उत्साहित भएको बताए। उनले सयपत्री फूलको नेपालमा टन्नै उत्पादन रहेको बताए। 'हामीले उत्पादन गरिरहेका छौं। तर, भारतबाट आयात गर्न निकै सजिलो भयो। वर्षभर अरू व्यवसाय गरेकाहरू क्षणिक लाभ लिनलाई भारतबाट आयात गरेर बजारमा सस्तो रेटमा बेच्न थाले। त्यसले आयात बढेको छ। व्यक्तिगत फाइदाको लागि व्यापार गर्दा नेपाली मालाले बजार पाएको छैन,’ उनले गुनासो गरे।
पुष्प व्यवसायी महर्जनले सरकारले भारतबाट जथाभाबी फूल आयात गरेर बिक्री गर्नेहरूको निगरानी गरी निरुत्साहित गरे नेपाली फूलले बजार पाउने बताए।