काठमाडौं- फ्रान्सेली शीर्ष डिभिजनको फुटबल लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिल्लमाथी पुनरागमन जित निकालेको छ।
पीएसजीको मैदानमा शुक्रबार राति सम्पन्न खेलमा घरेलु टिमले लिल्ललाई २–१ गोलअन्तरले हराएको हो।
पीएजीको जितका लागि माक्विन्होस र डी मारियाले गोल गरे। खेलको ३१औं मिनेटमा लिल्लका जे डेविडले गोल गरेपछि पीएसजी पहिलो हाफमै एक गोलले पछि परेको थियो।
तर, ७५औं मिनेटमा डी मारियाले उपलब्ध गराएको पासबाट माक्र्विन्होस्ले गोल गर्दै खेल बराबरी गरेका थिए। यता निर्धारित समयको दुई मिनेटअघि मात्रै ब्राजिलियन फरवार्ड नेयमारले पास दिएको बललाई डिमारियाले पोस्टभित्र छिराएपछि पीएसजीले २–१ अग्रता आफ्नो हातमा लिएका थियो।
र, सोही अग्रताका साथ उसले जित निकालेको हो। यो जितसँगै पीएसजी शीर्षस्थानमा १० अंकले अघि छ। पीएसजीको ३१ अंक हुँदा दोस्रो स्थानको लेन्सको २१ अंक छ। पराजित लिल्ला भने १५ अंकका साथ ११औं स्थानमा छ।