आइतबार, असोज २५, २०८३

जूनेली

अतीतका ती दृश्य चलचित्रको पर्दाजस्तै एकपछि अर्को गरी नाचेका छ्न्। मेरो शरीर ओछ्यानमा थियो तर मन भने खरायोले झैं बुर्कुसी मारेर स्कुले ती दिनमा पुगिसकेको हुन्छ।
 |  शनिबार, कात्तिक २०, २०७८

रिमा केसी

रिमा केसी

शनिबार, कात्तिक २०, २०७८

पुसको मध्य जाडो छ। चारैतिर सिरेटो चलिरहेको छ। मानौं काठमाडौं नै कठ्याङ्ग्रिएको छ यतिबेला। चिसोले मलाई एकदमै सताउँछ। हातगाेडा सुन्निएका छन्। टाउको हल्का दुखिरहेको छ। जाडो महिनाभर रुघाले मलाई बेपत्तासँग माया गर्छ।

दिनभरि अफिसको कामको चटारोले लखतरान थिएँ। कतिबेला कोठामा पुगेर बेडमा लम्पसार परुँ अनि सिरकमा गुटमुटिऊँ जस्तो भइरहेको थियो। सहर आफ्नै नियमित दौडधूपमा व्यस्त छ। केही कुराको वास्ता नगरी म भने हतारहतार आफ्नो कोठामा पुग्छु।

छिटोछिटो कपडा चेन्ज गर्छु। एक सासमा किचनमा पुगेर पानी तताउँछु। रुघाखोकीले ग्रस्त पारेको छ।

हत्तपत्त एउटा भाँडोमा पानी खन्याउँछु र सञ्चोका केही थोपा खसाउँछु। अनि  सिरकभित्र पसेर बाफ लिन सुरु गर्छु। एकछिन त सास फेर्न गाह्रो हुन्छ। उकुसमुकुस हुन्छु। सकिनसकी बाफ लिन्छु। पानी सेलाउँदै गएपछि सिरक फाल्छु। पसिनाले निथ्रुक्क हुन्छ अनुहार। टाउको अलिक हल्का महसुस गर्छु अघिभन्दा। पसिना पुच्छु।

अनि किचेनमा जान्छु पानी फाल्न। भोकले पेट बटार्छ। के खाऊँ के खाऊँ हुन्छ। के पकाऊँ अब? तरकारी पनि ल्याउनै बिर्सेछु। चाउचाउ देख्छु आँखा अगाडि! फटाफट उमाल्छु। कागती निचोरेर कचौरामा हाल्छु। अनि प्लेटमा राखेर बेडमै ल्याउँछु। 

सुरुपसुरुप तात्तातो सुप पिउँछु। असाध्यै मिठो लाग्छ। मज्जा आउँछ मलाई जाडोमा राराको सुप पिउन।

मोबाइल खोज्छु अनि फेसबुक लगइन गर्छु। फेसबुकले नयाँ फ्रेन्ड रिक्वेस्ट आएको जानकारी दिन्छ। म अक्सर नचिनेका मानिसकाे फ्रेन्ड रिक्वेस्ट असेप्ट गर्दिनँ। हेर्दै जाँदा एउटी अनचिनारु महिलाको रिक्वेस्टआएको हुन्छ। नाउँ हुन्छ जूनेली। अरुभन्दा अलि फरक नाम! अनौठो लाग्यो नाम पढ्नेबित्तिकै! यो नाउँमै थियो गाउँको मिठो सुगन्ध बोकेको एउटा तितो यथार्थ। त्यस नामले मलाई चुम्बकलेझैं तान्छ।

अतीतका ती दृश्य चलचित्रको पर्दाजस्तै एकपछि अर्को गरी नाचेका छ्न्। मेरो शरीर ओछ्यानमा थियो तर मन भने खरायोले झैं बुर्कुसी मारेर स्कुले ती दिनमा पुगिसकेको हुन्छ।

प्राेफाइलमा गएर हेर्छु। चिनेचिने जस्तो पनि र नचिनेनचिने जस्तो पनि। तर नामबाट कताकता अपनत्वको भावनाले मलाई अँगालेजस्तो लाग्छ। त्यसैले  मैले असेप्ट गर्छु। अनि केही मेसेज पनि रहेछन्। इनबक्स खोलेर हेर्दा उसको लामाे चिठी रहेछ।  चिट्ठी पढ्न सुरु गरें।

आँखा एकाएक भरिएर आउँछ्न्। पुराना यादका तस्बिर आँसुका ढिक्कासँगै धमिलिँदै सल्बलाउन थाले आँखाभित्रै। अतीतका ती दृश्य चलचित्रको पर्दाजस्तै एकपछि अर्को गरी नाचेका छ्न्। मेरो शरीर ओछ्यानमा थियो तर मन भने खरायोले झैं बुर्कुसी मारेर स्कुले ती दिनमा पुगिसकेको हुन्छ।

हरेक दिनजस्तै त्यो दिन पनि ऊ स्कुलको गेटबाहिर कुरेर बसिरहेकी हुन्छे। पुराना थोत्रा लुगा, जिङ्ग्रिंग परेको मैलो कपाल अनि ख्याउटे अनुहार, सिँगान र आँसुका दाग!  कति दिनदेखि सधैं यहीँनेर बसिरहेकी देखिन्थी ऊ। अनुहारमा गहिरो सुरुङजस्तो उदासी पाेतिएको थियो तर आँखामा थियो जिन्दगीको रहस्य खोतल्ने अलिकति  उत्सुकता।

उसका आँखाले मलाई सधैं विचलित बनाउँथे तर म खासै वास्ता नगरी खुरुखुरु आफ्नो घरको बाटो लाग्थेँ। उसका ओठ सधैं मसँग कुरा गर्न खोजिरहेका जस्ता देखिन्थे।

एकदिन स्कुल छुट्टी हुनासाथ म घर जान हतारिँदै निस्किँदै थिएँ। मलाई देखेर ऊ मुसुक्क मुस्कुराई प्रत्युत्तरमा म पनि    मुस्कुराइदिएँ। हतार थियो तर खोइ किनकिन उसको मुस्कान र उदास आँखाहरुले ताने मलाई।

नजिक गएँ अनि सोधें -

'कत्ति दिन देखि तिमीलाई यहीं देख्छु।

मलाई नै हेरिरहन्छ्यौ सधैं तिमी किन?

तिम्रो नाम के हो? घर कहाँ हो? सधैं स्कुल बिदा हुने बेला तिमी किन यहाँ आउँछ्यौ?'

सबै प्रश्न एकै सासमा सोध्छु।

ऊ अञ्जानमा सहरमा आफन्त भेटिएजस्तो खुसीले फुरुंग हुँदै बोल्छे-

'जूनेली हो मेरो नाम। घर यहीं नजिकै  हो। मलाई तपाईंसँग  बोल्न मन लागेर आएकी। सधैं बोलाउन खाेज्छु तर डर लाग्छ। बोलाउनै सक्दिनँ अनि  घर फर्किन्छु।'

'के थियो भन न त।'

ऊ खुट्टा खोच्याउँदै हिँड्न खोज्छे।

'ओहो ! के भएको तिम्रो खुट्टा?'

मेरो प्रश्न सुनेर उसका आँखाभरि आँसु टलपलिन्छ्न्। हावाको वेग मात्र आउन बाँकी हुन्छ सुनामी आउनलाई। यत्तिकैमा मीराले हातमा तानेर लैजान्छे मलाई।

'आज घर जान ढिलो भएन तँलाई? यस्ती डुँडीको पछि लागेर बस्छेस्? आमाले कराउनुहुन्छ मलाई त! म त गएँ है!'

म उसका समुद्रजस्ता आँखा हेर्दै बिस्तारै मन नलागी-नलागी घरतिर लाग्छु! त्यस रात पटक्कै निदाउन सक्दिनँ। छुट्ने बेला हेरिरहेका उसका उदास आँखाले मेराे रात बिथाेलिदिन्छ्न्। मुटुमा सियोले घोचेजस्तो घोचिरहन्छ चसक्क! पढ्न खोज्दा पनि पटक्कै मन लाग्दैन। कति बेला उज्यालो होला र उसलाई भेट्न जाउँला जस्तो हुन्छ। ऊ किन मसँग भेट्न र कुरा गर्न चाहन्छे? मनमा धेरै प्रश्न जन्मिन्छ्न्। जसोतसो रात बित्छ, उज्यालो हुन्छ! उसलाई भेट्ने हतारमा नियमितभन्दा चाँडै स्कुल हिँड्छु। दौडिँदै जाँदा झन् छिट्टै पुगेकी हुन्छु। गेटमा हेर्छु अहँ ऊ छैन। यताउता हेर्छु, कतै अत्तोपत्तो हुँदैन उसको। दिनभरि कक्षाभित्र पढाइमा भन्दा गेटबाहिर हुन्छ्न् ध्यान र नजर।  क्लासमा के के भयो? कुन सरले के पढाए केही पत्तो पाउँदिन। आठ घन्टाको स्कुल महिना दिन जस्तो लाग्छ मलाई। लामो  दिन सकिएपछि घण्टी बज्नासाथ बाहिर निस्कन्छु। अहिले पनि कतै देख्दिनँ उसलाई। हेर्छु वरपर,  उसकै  बारेमा सोच्छु कतै देख्दिनँ। साथीहरू सोध्छ्न्!

दिनभर छट्पटीमै बित्छ। छुट्टी हुनेबित्तिकै गेटमा पुग्छु। यताउता हेर्छु अलिक पर ठूलो ढुङ्गामाथि बसेकी हुन्छे। खरीढुङ्गाले जानीनजानी उल्टोपाल्टो केके लेख्दै गरेकी जूनेली। म मुस्कुराउँदै उसको नजिकै पुग्छु। मुसुक्क हाँस्छे।

'के भयो ? कसलाई खोजेकी तिमीले? जाऊँ हिँड छिटो घर।'

सब आआफ्नो घरतिर लाग्छन्। म भने जाँगर सेलाएकाे खुट्टा लतार्दै बिस्तारै घरतिर लाग्छु भोलि त आउली नि पक्कै भन्दै। मनमा अलिकति आस राखेर।

******

भोलिपल्ट बिहान पनि छिटो आइपुग्छु। हेर्छु तर आएकी हुँदिनँ। दिनभर छट्पटीमै बित्छ। छुट्टी हुनेबित्तिकै गेटमा पुग्छु। यताउता हेर्छु अलिक पर ठूलो ढुङ्गामाथि बसेकी हुन्छे। खरीढुङ्गाले जानीनजानी उल्टोपाल्टो केके लेख्दै गरेकी जूनेली। म मुस्कुराउँदै उसको नजिकै पुग्छु। मुसुक्क हाँस्छे।

'हिजो किन नआएकी तिमी? कहाँ गएकी?'

मेरो प्र्श्नले ऊ डाँको छाडेर रुन्छे।

के भो? किन रोएकी?  भन न के भो? 

आमाले गाली गर्नु भो?

तिमी स्कुल किन जाँदैनौ?

आँधीपछिकाे सन्नाटाजस्तै एकछिनको रुवाइ पछि आफैं शान्त हुन्छे।

बिस्तारै बोल्न थाल्छे -

'आमा हुनुहुन्न मेरो। मलाई एक्लै यो संसारमा छोडेर जानुभो।

सानिमाले माया गर्नुहुन्न। गाली गरिराख्न्नुहुन्छ मलाई देखिसहनुहुन्न। पिट्नुहुन्छ मलाई। घरको काम गरेर फुर्सद नै हुँदैन।

म कसरी स्कुल जानु? फेरि मलाई कसले पढाउँछ र? भाइले मात्रै पढ्नुपर्छ भन्नुहुन्छ बा पनि।

मेरो आमा भैदेको भए पो स्कुल पठाउनुहुन्थ्यो?

मलाई कसले किनिदिन्छ र कापी, किताब र झोला?

मेरो ड्रेस छैन।

चप्पल छैन।

मलाई माया गर्ने कोही त छैन। कसले पढाउँछ र मलाई? म स्कुल जानु।

सानै उमेरमा मेरो दाइ इन्डिया गयो पैसा कमाउन भनेर। फर्केर आको छैन। दिदीको बिहे भयो कहिलेकाहीं मात्र आउनुहुन्छ।

घरमा एउटी लाटी दिदी छे।

अनि म छु। अब। 

डुँडी भन्छ्न् सबैले मलाई। हेला गर्छन्। गाली गर्छन्। 

पेटभर खान त पाइन्न हाम्रो घरमा।'

यत्तिकैमा ऊ 'तिम्रो कस्तो राम्रो झोला है' भनेर मेरो झोला हेर्दै, सुम्सुम्याउँदै प्रश्न गर्छे।

'कति राम्रो ड्रेस, रिबन अनि चप्पल!

सबै नयाँ रहेछ्न्।

मैले त नयाँ लुगा नयाँ चप्प्ल कहिल्यै लगाउन पाउन्न ।

मलाई नि तिमी जस्तै बन्न रहर छ।'

सास रोकेर म उसलाई सुनिरहेको थिएँ। उसका कुराले म चोइटिरहेको थिएँ।

मेरो आँखा अगिदेखि भरिएका थिए। कति बेला बाँध भत्कियो थाहा पाइनँ।

तिमी त रोएछौ त? के भो?

मेरो घाउ देखेर हो?'

'उम्म कसरी भो घाउ?' मैले सोधेँ

'यो म पाँच वर्षकी हुँदा पिलो आको रे।

बुवाले अस्पताल लाने भन्नुभएको रे आमाले आफैं ठिक हुन्छ पर्दैन लैजानु  भन्नुभो रे अनि यस्तै भएको रे। पाकेर

सधैं घाउबाट पिप र रगत आउँछ। टालो बाँधेर हिँड्छु म।'

'नरुऊ है तिमी। मेरो कुराले तिम्रो मन दुखाइदिएँ।'

ऊ बर्बराई। मैले हस् भनें।

मनभित्र भूकम्प आइरहेको थियो।

'तिमी मेरो साथी बन्छ्यौ?'

'साथी ?'

'म साथी हुन सक्छु र तिम्रो?'

'उम्!'

'हात मिलाऔं।'

दुवैले हात मिलायौं।

'ल म घर जान्छु अहिले। भोलि भेट्ने है ढिलो भयो आज। आमाले गाली गर्नुहुन्छ मलाई।'

'हस हुन्छ।'

'भोलि नि कुर्छु है तिम्लाई।'

'तिम्रो नाम के हो  नि?'

'मैया। उम् मैया नै हो मेरो नाम। मैया भन है! 

'हुन्छ। बाई बाई मैया। भोलि भेटौंला।'

'आज त मैले क ख लेख्न सिक्दै छु नि।'

'ए हो र?'

'ल ल हेर त यो भयो कि भएन?'

'उल्टो भयो।'

'पर्ख म सिकाउँछु तिमीलाई।'

'यी लेऊ तिम्लाई कापी र कलम। क ख लेख्न सिकाउँछु म।'

यसरी ऊसँग मित्रता गाँसेपछि दिन बितेको पत्तो नै पाउदिनँ थिएँ। मलाई कति बेला छुट्टी होला र ऊसँग भेटुँला भन्ने ध्याउन्न मात्रै हुन्थ्यो।

आमासँग भनेर मैले उसलाई किताब किनेर लगिदिएँ।

हामी सँगै खेल्ने, खाने, पढ्ने गर्थ्यौं।

म उसलाई मेरो घरमा बोलाउँथें।

आमाले निक्कै माया गर्नुहुन्थ्यो उसलाई। 

म घरमा चोरीचोरी खानेकुरा र लुगा लग्दिन्थें।

म उसलाई आफूले जानेको कुरा पढ्न र लेख्न सिकाउँछु।

एक दिन मेरो सरसँग उसको पढाइका बारेमा कुरा गर्छु र सरलाई लिएर उसको घर जान्छु।

आमा पनि जानुहुन्छ सँगै।

मनमा डर लागिरहेको हुन्छ। तैपनि डराई-डराई उसको पढाइका लागि युद्ध लडिरहेकी हुन्छु सम्झाई बुझाई बल्लतल्ल। केही पैसा सर र आमाले तिरिदिने सहमतिमा उसको स्कुल भर्ना हुने अनुमति मिल्छ।

मेरो खुसीले सीमा नाघेको दिन थियो मानौं कुनै ठूलो युद्ध जितेर फर्केकी थिएँ म त्यस दिन।

यति खुसी त म कक्षामा प्रथम  हुँदा पनि भएकी थिइनँ।

ऊ पर लुकेर हेरिरहेकी हुन्छे डरले। मलाई देखेर खुसीको मूल फुट्छ उसका अबोध आँखाबाट।

म गएर अँगालो हाल्छु। निकै बेर हामी अँगालोमा बाँधिएर खुसीका आँसु साँट्छौं।

सधैं स्कुलको गेटमा उभिने ऊ अब कक्षाकोठामा बसेर पढ्न थाली। उसका नयाँनयाँ साथी भए। निकै दु:ख र मेहनत गरेर घरको काम पनि भ्याएर उसले पढ्न थाली। सरमिसहरु पनि उसको मेहनत र जिज्ञासा देखेर दङ्ग पर्नुहुन्थ्यो। अवसरको अभावले पिल्सिनुको पीडा उसले राम्रोसँग बुझेकी थिई सायद। प्रथम श्रेणीमा एसएलसी पास गरिछे। उसको दिनरात एक गर्दै पढेको परिश्रमले उसलाई पुरस्कृत हुन्छे।

'तपाईंले मलाई जिन्दगी दिनुभयो र आज म अरुलाई पनि आफूसँग भएको उज्यालो बाँड्न सक्ने जूनेली भएकी छु। तपाईं मेरो जिन्दगीमा नआएकी भए  कतै अँध्यारो खोंचमा हराइरहेकी हुने थिएँ।'

एसएलसी पास गरेपछि छात्रवृत्ति मै प्लस टु पनि त्यही स्कुलबाट सकेकी हुन्छे शिक्षा विषय लिएर।

मलाई समयको आँधीले उडाएर काठमाडौंको खाल्डोमा हुत्याइदिएकाे थियो। म आफ्नै जिन्दगीले दिएका परीक्षाको सामना गरिरहेकी थिएँ। गाउँ छाडेर सहर पसेपछि धेरै साथीभाइ  बिरानो बनिसकेका थिए गाउँसँगै। 

जिन्दगीको रीत यस्तै हो, हरेकलाई आफ्नै बेफुर्सदीले गाँज्दै लगेको हुन्छ। म मात्र कहाँ अछूताे रहन सक्थें र?

कुनै बेला जुन स्कुलकाे फलामे गेट उसका लागि पार गर्न नसकिने चिनियाँ पर्खालजस्तै थियो आज ऊ त्यही स्कुलको मास्टर्नी भइसकेकी रहिछे।

शिक्षक सेवा आयाेगकाे परीक्षा उत्तीर्ण भएर नाम निकालिछे। त्यो खुसीकाे समाचार ऊ पहिलोचाेटि मलाई सुनाउन चाहन्थी रे।

तर मेरो नम्बर भेटिनछे। अनि फेसबुकमा भेट्छु होला भनेर धुइँपत्ताल खाेजिछे। मेरो नाउँ त उसलाई मैया भनेकी थिएँ। कति खाेज्दा पनि भेटिनछे। अनि एकदिन अचानक 'फ्रेन्ड यु मे नाे' मा मेरो फाेटाे देखेपछि। उसलाई वर्षौंदेखि हराएको हृदयको सबैभन्दा नजिककाे मान्छे भेटेजस्तै अनुभूति भयो भनेर लेखेकी हुन्छे चिठीमा। उसले लेखेका अक्षर पढ्दा म बर्सिन लागेकाे बादल भइसकेकी थिएँ। उसले आफ्नाे सारा सफलताको श्रेय मलाई दिएकी थिई।

'तपाईंले मलाई जिन्दगी दिनुभयो र आज म अरुलाई पनि आफूसँग भएको उज्यालो बाँड्न सक्ने जूनेली भएकी छु। तपाईं मेरो जिन्दगीमा नआएकी भए  कतै अँध्यारो खोंचमा हराइरहेकी हुने थिएँ '- उसले लेखेकी थिई।

प्रकाशित: Nov 06, 2021| 07:15 शनिबार, कात्तिक २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।