काठमाडौं– प्रधानसेनापति महारथी प्रभुराम शर्मा कार्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणमा जाने भएका छन्। भारतका सेनाध्यक्ष एमएम नरवणेको औपचारिक निमन्त्रणामा उनी भारत भ्रमणमा जाने भएका हुन्।
नेपाली सेना र भारतीय सेनाको परम्परागत सम्बन्धअनुसार भारतीय सेनाको मानार्थ महारथी दर्जाको सम्मान ग्रहण गर्न प्रधानसेनापति शर्मा भारत जान लागेको हुन्।
नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार कार्तिक २३ गते भारतको नयाँदिल्ली पुग्ने छन्। उनले कार्तिक २४ गते भारतीय राष्ट्रपति रामनाथ कोविन्डबाट मानार्थ महारथी दर्जाको सम्मान ग्रहण गर्ने छन्।
भारतीय सेनाको मानार्थ महारथी दर्जा सम्मान ग्रहण गरेको भोलिपल्ट प्रधानसेनापति शर्माले भारतीय राष्ट्रपति कोविन्डसँग शिष्टाचार भेट गर्ने कार्यतालिका रहेको छ।
भारत भ्रमणका क्रममा प्रधानसेनापति शर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्रीसँगै भारतका सेनाध्यक्ष नरवणेसँग समेत छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने छन्। प्रधानसेनापति कार्तिक २६ गते स्वदेश फर्कने निर्देशनालयले जनाएको छ।