काठमाडौं- प्रधानसेनापति प्रभुराम शर्मा चार दिवसीय भारत भ्रमणमा जाने भएका छन्।
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवानेको निमन्त्रणमा सेनापति शर्मा २३ कात्तिकमा भारत भ्रमणमा जाँदैछन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानसेनापति शर्माको नेृतत्वमा भारत भ्रमण दल टोलीलाई स्वीकृति दिने निर्णय गरिसकेको छ।
भारतीयस्थल सेनाध्यक्षको मानार्थ दर्ज्यानी चिह्न ग्रहण गर्न प्रधानसेनापति शर्मा भारत जान लागेका हुन्। नेपाल र भारतका सेना प्रमुखलाई कदरस्वरूप एकअर्काको मानार्थ महारथीबाट सम्मान गर्न प्रचलन छ।
प्रधानसेनापति शर्मालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले मानार्थ महारथीबाट सम्मान गर्ने कार्यक्रम नेपाली सेनाले जनाएको छ।
यसअघि भारतका स्थल सेनाध्यक्ष नरवानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी प्रदान गरेकी थिइन्।