महोत्तरी- गौशाला नगरपालिका-५ गौशाला बजार डेरा गरी बस्ने सोही नगरपालिका-९ डुमरवाना घर भएका ४४ वर्षीय सुकन महतोलाई नेपाली तथा भारतीय नक्कली नोट तथा जाली नोट बनाउन प्रयोग हुने उपकरण सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
महतोले जाली नोट बनाउन प्रयोग हुने उपकरण सहित विभिन्न दरका नेपाली र भारतीय नोट छापेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले नोट बनाउन प्रयोग हुने उपकरण, नेपाली तथा भारतीय कटिङ गरिएको र नगरिएको नक्कली नोटहरू, सक्कली नेपाली तथा भारतीय नोटहरू सहित उनलाई पक्राउ गरेको हो।
उक्त ठाउँबाट तयारी तथा कटिङ नगरेको विभिन्न दरको नोट गरी ८ लाख ८२ हजार ४ सय २० नक्कली नेपाली रुपैयाँ, विभिन्न दरको कटिङ गरिएको र नगरिएको नोट गरी २ लाख ७७ हजार ९ सय ७० नक्कली भारतीय रुपैयाँ प्रहरीले बरामद गरेको छ। यस्तै ५ हजार ७० नेपाली सक्कली रुपैयाँसमेत बरामद गरिएको महोत्तरी प्रहरीले जानकारी दिएको छ।
यस्तै नक्कली नोट बनाउन प्रयोग गर्ने १ थान कैची, १ थान प्रिन्टर, १ थान रवर स्टाम्प, लालीगुराँस छाप भएको फलामको ३ थान ढ्याक, महात्मा गान्धी छाप भएको फलामको १ थान ढ्याक, ३ रिम कम्प्युटर पेपर, २ थान काठको ट्रेस फर्मा र १ थान मोबाईल बरामद भएको छ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।