काठमाडौं– लागू औषधको मुद्दामा भारतको मुम्बईस्थित आर्थर रोड जेलमा राखिएका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान धरौटीमा रिहा भएका छन्। मुम्बईस्थित उच्च अदालतले जमानतमा छाड्ने फैसला गरेपछि उनी रिहा भएका हुन्।
आज बिहीबार दिउँसो ३ बजे सुरु भएको सुनुवाइपछि उच्च अदालतले आर्यनलाई धरौटीमा रिहा गर्ने आदेश गरेको हो। यसअघि दुई पटकसम्म आर्यनको रिहाइका लागि गरिएको निवेदन अदालतले अस्वीकार गरिदिएको थियो।
आर्यनलाई भारतको राष्ट्रिय लागु औषध अनुसन्धान ब्युरो (एनसीबी) ले पानीजहाजबाट पक्राउ गरेको थियो। आर्यनसँगै अन्य केहीलाई लागु औषधको प्रयोग तथा कारोबार गरेको आरोपमा पक्राउ गरिएको थियो। आर्यन रिहा भए पनि उनीसँगै पक्राउ परेका अर्का अभियुक्त अरबाज मर्चेन्ट र मुनमुन धमीचा भने थुनामै छन्।