ताप्लेजुङ- सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा रहेको लिम्बू संग्रहालय कमजोर व्यवस्थापनका कारण ओझेलमा पर्दै गएको छ। संग्रहालयमा लिम्बू समुदायको पुरातात्विक पहिचान संरक्षण गर्ने प्रयास भए पनि आवश्यक प्रवद्र्धन र व्यवस्थापन नहुँदा गुमनाम जस्तै बनेको छ।
संग्रहालय २०५७ सालमा स्थापना भएको हो। संग्रहालयमा लिम्बू समुदायले परापूर्व कालदेखि प्रयोग गर्दै आएको हात हतियार, शिकार गर्दा प्रयोग गर्ने आवश्यक सामग्री तथा लिम्बू समुदायको जन्म र मृत्यु संस्कारमा आवश्यक पर्ने सामग्रीहरू छन्। १८१४ र १८३१ सालमा पृथ्वीनारायण शाहले लिम्बूसँग गरेको सन्धि–सम्झौता र युद्धमा प्रयोग गरिएको ढालहरूलाई संग्रहालयमा संरक्षण गरेर राखिएको छ।
लिम्बू समुदायका पुर्खाहरूको पालादेखि प्रचलनमा रहेको फेदाङ्मा र बिजुवा (झाँक्री तथा पूजारी) ले प्रयोग गर्ने पहिरन जामा, पगरीजस्ता सामग्री संग्रहालयमा संग्रहित छन्। संग्रहालयमा संरक्षण गरिएका कतिपय प्राचीन पुरातात्विक सामग्री लोप भइसकेका छन् भने केही लोपोन्मुख छन्।
जिल्लाका अधिकांश ठाउँमा सडकको पहुँच पुगे पनि लिम्बू संग्रहालय रहेको मामाङ्खेमालाई सडकले छोएको छैन। मामाङ्खेसम्म सडक पहुँच बिस्तार भए संग्रहालयको प्रचारप्रसार हुने स्थानीयवासीको आशा छ।
पर्यटकीय केन्द्र बन्ने प्रशस्त सम्भावना भए पनि संग्रहालय व्यवस्थापन समितिले आवश्यक चासो नदिएकै कारण ओझेलमा परेको स्थानीय लोकेन्द्र लिम्बूको आरोप छ। उनका अनुसार संग्रहालय स्थापनाको केही वर्षसम्म निश्चित शुल्क लिएर स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरूले संग्रहालयमाथि अध्ययन तथा अवलोकन गरेका थिए।
संग्रहालय व्यवस्थापन समितिका अध्यक्ष टीका माबो लिम्बूले भने संग्रहालयको व्यवस्थापनका लागि आवश्यक खर्च जुटाउन नसकेको बताए। स्थानीय वौद्धिक व्यक्तित्व डा. चित्र माबो लिम्बूले संग्रहालयको प्रवद्र्धनका लागि गुरुयोजना बनाएर अघि बढ्ने तयारी भइरहेको सुनाए।
लिम्बू समुदायको पहिचान र इतिहासलाई संरक्षण गर्ने कुरामा स्थानीय, प्रदेश हुँदै संघसम्म प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले आवश्यक पहल र सहयोग गर्ने आश्वासन दिँदै पनि आएको डा. लिम्बूले बताए।
दिलकुमार लिम्बू/न्युज कारखाना