काठमाडौं– जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप२६ हुन लागेको स्कटल्यान्डको ग्लास्गोमा बाढी आएको छ। जलवायु परिवर्तनसम्बन्धी महत्वपूर्ण सम्मेलन सुरु हुनु केही दिनअघि ग्लास्गोमा बाढी आएको हो।
सामाजिक सञ्जालमा सेयर गरिएका तस्बिर र भिडियोमा बाढीका कारण सहरको यातायात प्रभावित भएको देखाइएको छ। कैयौं सवारीसाधन सडकमै फसेका छन्।
स्काइ न्युजका अनुसार दर्जनौं रेल सेवा अवरुद्ध भएका छन्। कोप२६ सम्मेलन हुने क्षेत्रमा पनि पानी जमेको बताइएको छ। सम्मेलन सुुरु हुने दिन (आइतबार) स्थिति झन् खराब हुने आँकलन गरिएको छ। ग्लास्गोमा अहिले यस वर्षकै ठूलो वर्षा भएको बताइएको छ।
कोप२६ मा भाग लिन नेपालको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोली भोलि शुक्रबार प्रस्थान गर्दैछ। ५ दिने भ्रमणमा २० जना रहनेछन्।
