काठमाडौं- इटालियन फुटबल लिग सिरी एमा युभेन्टसले हार बेहोरेको छ। घरेलु रंगशाला युभेन्टस स्टेडियममा भएको खेलमा उसले ससुओलोसँग २–१ गोलको हार बेहोरेको हो।
युभेन्टसको हारमा ससुओलोका डेविडी प्राटिसी र म्याक्सिम लोपेज नायक रहे। प्राटिसीले पहिलो हाफको ४४औं मिनेटमा गोल गरेर पाहुना टिमलाई एक गोलको अग्रता दिलाएका थिए।
तर, ७६औं मिनेटमा युभेन्टसका वेस्टा म्याककेनिनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। यद्यपि खेलको इज्युरी समयमा लोपेजले गोल गरेर पाहुना टिमलाई जित दिलाए।
यो हारसँगै मासिमिलानो एलेग्रीको टिम युभेन्टस १५ अंकका साथ सातौं स्थान कायम छ। ससुआलोले भने १४ अंक बनाएर नवौं स्थानमा पकड जमाएको छ।
बुधबार राति नै सम्पन्न अर्को खेलमा इन्टरम मिलानले १० खेलाडीमा समेटिएको एम्पोलीलाई २–० गोलअन्तरले हराएको छ भने रोमाले क्यालिग्रीमाथि २–१ गोलको जित निकालेको छ।
इन्टर मिलान अहिले जितसँगै २१ अंक बनाएर तेस्रो स्थानमा छ। ऊ शीर्षस्थानको एसी मिलानभन्दा ७ अंकले पछि छ। त्यस्तै, दोस्रो स्थानको नापोलीको भने २५ अंक छ।