काठमाडौं- ईएफएल काराबाओ कपअन्तर्गत बुधबार राति दुई खेलमा पेनाल्टी सुटआउटबाट निर्णय भएका छन्।
त्यसमध्येको एक खेलमा बलियो टिम म्यानचेस्टर सिटी पराजित भएको छ। लन्डन रंशालामा भएको खेलमा वेस्ट हामले सिटीसँग गोलरहित बराबरी खेलेपछि निर्णय पेनाल्टीबाट लिइएको थियो।
जहाँ सिटीका फिल फोडेनले पेनाल्टीमा गोल गर्न नसकेपछि सिटीले हार बेहोरेको हो। यता वेस्ट हामका पाँचै खेलाडीले गोल गरेपछि सिटीले अन्तिम गोल प्रहार गर्नै परेन। र, उसले ५–३ गोलको हार बेहोर्यो।
खेल अवधिभर ६५ प्रतिशत समय बलमा नियन्त्रण बनाउँदै सिटीले वेस्ट हामको पोस्टतर्फ २५ प्रहार गरेको थियो। तर, उसको कुनै प्रहार सफल भएनन्। वेस्ट हाम भने खेल अवधिभर दबाबमा रह्यो। यद्यपि उसले सिटीको पोस्टतर्फ ७ प्रहार गर्यो।
त्यस्तै, बुधबार रातिकै अर्को खेलमा लेस्टर सिटीले ब्राइटोनलाई पेनाल्टीमै हराएको छ। किंग पावर रंगशालामा निर्धारित ९० मिनेटसम्म २–२ गोलको बराबरी भएपछि नतिजा टाइब्रेकरबाट लिइएको थियो।
जहाँ ब्राइटोनका इनोक मुइपु र नेल मउपे गोल गर्नबाट चुके। त्यसबाहेक सबै खेलाडीले गोल गरेपछि लेस्टर ४–२ अन्तरको जित निकाल्यो।
यो जितसँगै वेस्ट हाम र लेस्टर काराबाओ कपको क्वार्टरफाइनलमा पुगेका छन्। साथै स्टकसिटीलाई हराउँदै ब्रेन्टफर्ड र क्यूपीआरलाई हराउँदै सन्डरल्यान्ड पनि क्वार्टरफाइनलमा पुगेका छन्।