बेइजिङ- संयुक्त राष्ट्र संघको सहभागी हुनका लागि ताइवानलाई कुनै अधिकार नभएको चीनले दोहोर्याएको छ। संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्र संघमा ताइवानको सहभागिताका लागि अर्थपूर्ण सहयोग हुने बताएपछि चीनको यस्तो प्रतिक्रिया आएको हो।
'ताइवानलाई संयुक्त राष्ट्र संघमा सहभागी हुने कुनै अधिकार छैन,' चीनको ताइवान मामिला कार्यालयका प्रवक्ता मा सिआओगुआङले बुधबार पत्रकारहरूसँग भने, 'संयुक्त राष्ट्र संघ सम्प्रभुतासम्पन्न राष्ट्रहरूको अन्तर्राष्ट्रिय संगठन हो। ताइवान चीनको अंग हो।
ताइवानी र अमेरिकी अधिकारीहरूबीच भएको कुराकानीमा ताइवानले संयुक्त राष्ट्रसंघमा सहभागी हुने ईच्छा प्रकट गरेपछि यो विषयमा पछिल्लो समय निरन्तर एक-अर्काका प्रतिक्रिया आउन थालेका हुन्।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मंगलबार विश्वमञ्चमा ताइवानलाई सहभागी नगराइनुले आफूलाई दुःख लागेको बताएका थिए। 'संयुक्त राष्ट्र संघमा ताइवानको अर्थपूर्ण सहभागिता राजनीतिक मुद्दा होइन।'
लामो समयदेखि ताइवानले संयुक्त राष्ट्रसंघमा भूमिका पाउनुपर्ने माग गर्दै आएको छ।