वाशिङ्टन- अमेरिकी सरकारको एउटा प्यानलले फाइजर/बायोएनटेक खोप पाँचदेखि ११ वर्षका बालबालिकालाई दिनका लागि सिफारिस गरेको छ।
अमेरिकी खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडीए) का विज्ञहरूले मंगलबार उक्त कदमको समर्थन गरेपछि केही साताभित्रै अनुमति दिने बाटो खुलेको बीबीसीले जनाएको छ। सेप्टेम्बरमा, खोप निर्माता कम्पनीले खोप परीक्षणपछि पाँच वर्षभन्दा माथिका बालबालिकाका लागि खोप सुरक्षित रहेको दाबी गरेको थियो।
एफडीएको यो निर्णयले दुई करोड २० लाख अमेरिकी बालबालिका लाभान्वित हुने जनाइएको छ। अब उक्त निर्णय कार्यान्वयनमा आउन एफडिए र सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले थप अनुमति दिनुपर्ने छ।
ती निकायले नोभेम्बर २ तारिखमा त्यस्तो अनुमति दिने बताइएको छ। अमेरिकाका पाँच वर्षभन्दा माथिका बालबालिकालाई नोभेम्बर ३ देखि सुरु हुने बताइएको छ।
एफडिएका विज्ञहरूको टोलीले खोप लगाउनुको फाइदा त्यसले निम्त्याउनसक्ने अन्य स्वास्थ्य खतराभन्दा बढी हुने भन्दै त्यसप्रति आफूहरू प्रतिबद्ध रहेको बताएका छन्।
कम्पनीको परीक्षण विवरण गत सेप्टेम्बरमा नियामकहरूलाई पठाउँदा उनीहरूले उक्त उमेर समूहमा खोपले राम्रो प्रतिक्रिया देखाएको जनाएका थिए।
अमेरिकाले १२ वर्षमाथिकालाई यसअघि नै फाइजर खोप दिन थालेको हो।