हेटौँडा- बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुखले बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएर मुख्यमन्त्री पदमा दाबी गर्न प्रदेश सभाका दल र सांसदहरूलाई आह्वान गरेका हुन्।
'नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रदेशसभा सदस्यलाई बिहीबार दिउँसो ३ बजेसम्म मुख्यम्त्रीमा दाबी पेस गर्न (प्रदेश प्रमखले) आह्वान गर्नुभएको छ,' प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
विश्वासको मत नजुट्ने निश्चित भएपछि मुख्यमन्त्री शाक्यले बुधबार प्रदेशसभामा सम्बोधन गर्दै पदबाट राजीनामा दिएको बताएकी थिइन्।