बिहीबार, भदौ ४, २०८३

ताप्लेजुङका किसानलाई अलैंची भित्र्याउने चटारो

यतिखेर अलैंची कृषकहरू घरमा भेटिन छाडेका छन्। अलैंची टिपेर भित्र्याउनका लागि किसानहरू बगानमै बस्न थालेपछि गाउँघर सुनसान जस्तै बनेका छन्। उता अलैंची बगानमा भने मानिसहरूको भिडभाड देखिन्छ।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

ताप्लेजुङ- यतिखेर अलैंची कृषकहरू घरमा भेटिन छाडेका छन्। अलैंची टिपेर भित्र्याउनका लागि किसानहरू बगानमै बस्न थालेपछि गाउँघर सुनसान जस्तै बनेका छन्। उता अलैंची बगानमा भने मानिसहरूको भिडभाड देखिन्छ।

सिरिजंगा गाउँपालिका-६ का अलैंची कृषक हर्क माबो घर छेडेर अलैंची बगानमा बसेको करिब महिना हुन लाग्यो। उनले यस वर्षको दशैँ पनि बगानमै अलैंची टिप्दै मनाए। आउँदै गरेको तिहार पनि अलैंची बगानमै बित्ने उनी बताउँछन्। उनी बिहानदेखि बेलुकीसम्म पाकेको अलैंची टिप्ने गर्छ। दिनभर टिपेको अलैंची बेलुकीदेखि राति ११ बजेसम्म सम्मा गर्छन्।

मेरिङदेन गाउँपालिका-७ नाल्बुका अलैंची कृषक विमाना लिम्बुलाई जतिसक्यो चाँडो अलैंची टिपी सक्नु छ। चाँडो बगानमा अलैंची टिपी सकेर उनी लोकसेवाको तयारी गर्ने सोचमा छिन्। त्यसैले उनले दैनिक दश जनाभन्दा बढी खेताला लगाउँदै आएकी छन्। गत दसैंमा पनि एक दिनमात्र घरमा बसेको उनको भनाइ छ। उनी तिहारसम्ममा आफ्नो बगानको अलैंची टिपिसक्ने योजनामा छिन्।

फक्ताङलुङ गाउँपालिका-६ लेलेपका अलैंची कृषक समीर फेम्बु अहिले अलैंची बगानमा खेतालासहित अलैंची टिप्दै छन्। गत साता बेमौसमी वर्षा भयो। उनले वर्षामा भिजेरै अलैंची टिपे। उनी वडा कार्यालयका कर्मचारीसमेत हुन। उनले छिट्टै अलैंची भित्र्याएर कार्यालय पनि धाउनु छ।

अलैंची कृषक दसैं अगाडी नै घर छोडेर बगानमा बसेका छन्। ताप्लेजुङमा बेसी क्षेत्रमा असोजको पहिलो सातादेखि लेकाली क्षेत्रमा मंसिर १५ सम्म अलैंची टिप्ने चटारो हुन्छ। अहिले मध्ये क्षेत्रमा अलैंची टिप्ने समय भएको छ। बेसीदेखि अलैंची टिपाई लेकाली क्षेत्रमा क्रमशः सर्दै जाने गर्छ। मंसिर अन्तिम सातासम्ममा किसानले घरघरमा नयाँ अलैंची  भित्र्याई सक्छन्।

अलैंची टिप्ने मजदुर पाउनै गाह्रो

विगतका वर्षमा गाउँघरमा अलैंची टिप्नका लागि छरछिमेकीबीच अर्मोपर्मो गरिन्थ्यो। एक छिमेकीको बगानमा टिपाई सकेर अर्को छिमेकीको बगान टिप्ने गरिन्थ्यो। तर, बिस्तारै यो प्रचलन लोप हुँदै गएको छ।

अलैंची खेती हुने क्षेत्रमा प्राय सबै गाउँलेको अलैंची बगान छ। आफ्नो बगानमा आफैंले टिप्न सकिँदैन। समयमै टिप्न नसक्दा जंगली जनवाले पाकेको फल खाइदिने गर्छन्। त्यसका लागि समयमै टिपेर भित्र्याउनु पर्छ। तर, विगतका वर्षमा जस्तो खेताला पाउन छोडेको फक्ताङलुङ गाउँपालिका-५ का अलैंची किसान कुमार राईले बताए। 

उनले भने, 'आज भोलि खेताला पाउनै गाह्रो छ। गाउँभरि पैसा बोके खेताला खोज्दा पनि पाइँदैन। सबैलाई आफ्नै बगानमा टिप्न भ्याई नभ्याई हुन्छ।'

गाउँका केही युवा वैदेशिक रोजगारीमा गएकाले पनि खेताला पाउन मुस्किल हुँदै गएको सिदिङवा गाउँपालिका-४ कृषक अनिता लिम्बुले बताइन्। 

अलैंची बगान विस्तार 

केही वर्ष अगाडी सीमित क्षेत्रमा मात्र अलैंची खेती गरिन्थ्यो। तर, सात वर्ष अगाडी अलैंचीको बजार मूल्य एक लाख २० हजार रुपैयाँसम्म पुग्यो। राम्रो बजार मूल्य पाएको वर्षदेखि अलैंची बगान विस्तार हुन थाल्यो। केही वर्ष अगाडी सहायक  खेतीका रूपमा अलैंची खेती गरिन्थ्यो। अलैंचीले राम्रो बजार मूल्य आएसँगै पुर्खौली खेतीपातीको रूपमा गर्दै आएको धान, मकै, कादो जस्ता प्रमुख अन्न खेती हुने जमिनमा पनि किसानहरूले अलैंची खेती विस्तार गरेका छन्।

अलैंचीको राम्रो बजार मूल्य पाएसँगै वैदेशिक रोजगारीमा जान तम्सिएका युवाहरू खेती गर्न आकर्षित भएका छन्। वैदेशिक रोजगारीको सिलसिलामा विदेश पुगेकाहरू पनि फर्किएर गाउँमै अलैंची खेती गर्न थालेका छन्।

बिस्तारै जिल्लामा अलैंची बगानको विस्तार हुन थालेको कृषि ज्ञान केन्द्र पाँचथर सम्पर्क कार्यालय ताप्लेजुङले जनाएको छ। अहिले ताप्लेजुङमा करिब चार हजार तीन सय हेक्टर क्षेत्रफलमा अलैंची खेती हुँदै आएको कृषि ज्ञान केन्द्र पाँचथर सम्पर्क कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख विनय महर्जनले बताए। 

अलैंचीको बजार मूल्यदेखि किसान उत्साहित

सात वर्ष अगाडी एक मन (४० केजी)को एक लाख २० हजार रुपैयाँमा बजारमा खरिद बिक्री हुने गर्थ्यो। त्यस समयमा अलैंचीले कालो सुनको उपनाम पाएको थियो। तर, त्यस यताका वर्षमा अलैंचीको बजार मूल्य निरन्तर ओरालो लाग्दै आएको छ। केही वर्ष अगाडी एक मन अलैंची एक लाख २० हजारमा बिक्री गरेका फक्ताङलुङ गाउँपालिका-६ का अलैंची कृषक मेघवीर लिम्बुले गत वर्ष प्रति मन २२ हजार रुपैयाँमा बिक्री गरे। निरन्तर अलैंचीको बजार मूल्य ओरालो लागेपछि किसान निरास बन्न पुगेका छन्। 

तर, अहिलेको बजार मूल्यले भने किसान उत्साहित भएका छन्। ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा मंगलबार प्रति मन (४० केजी) ४१ हजारदेखि ४२ हजारसम्ममा खरिद बिक्री भइरहेको उद्योग वाणिज्य संघ ताप्लेजुङका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले बताए। अहिलेको बजार मूल्य पाँच वर्ष यताकै राम्रो भएको उनले बताए।

गत वर्ष ताप्लेजुङमा दुई हजार ९६० मेट्रिकटन अलैंची उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ।

कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टका अनुसार ताप्लेजुङमा अघिल्लो वर्षहरू भन्दा गत वर्ष १० देखि १५ प्रतिशतले उत्पादन वृद्धि भएको हो। जिल्लामा अलैंची खेती गरिएको कूल चार हजार ३०२ हेक्टर क्षेत्रफलमध्ये चार हजार २५८ हेक्टर क्षेत्रफल बराबरको खेतीबाट नियमित उत्पादन भइरहेको विष्टले जानकारी दिए। जिल्लाको नौ स्थानीय तहका ६१ वडा मध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला बाहेक सबै वडामा अलैंची खेती गर्ने गरिएको छ।

- दिलकुमार लिम्बु/न्युज कारखाना

प्रकाशित: Oct 27, 2021| 09:07 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।