काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा परिणामुखी काम हुनुपर्ने बताएका छन्।
मंगलबार व्यवसायीक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको निरीक्षण गर्दै उनले गुणस्तरीय तालिमको पहुँच बढाई सीपयुक्त र रोजगारसँग जोडेर काम गर्न निर्देशन दिए।
उनले नेपालमा प्राविधिक तथा व्यवसायीक शिक्षा एवं तालिम क्षेत्रको सेवा प्रवाहलाई सुदृढ गर्दै जनशक्ति उत्पादनमा ध्यान दिन आग्रह गरे।
‘तालिम प्राप्त जनशक्ति उत्पादनमा लक्ष्यअनुसार काम गरी परिणाम निकाल्ने गरी काम गर्नुहोस्’, मन्त्री पौडेलले भने, ‘काम गर्न नीतिगत समस्या छन् भने छलफल गरेर समाधान गरौं।’
विश्व बैंकको ऋण सहयोगमा सञ्चालित व्यवसायीक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको दोस्रो चरणको कार्यक्रमले असार मसान्तसम्ममा १ लाख १५ हजार जनालाई सीपयुक्त तालिम दिँदै छ।
अबको ९ महिनामा मेहनत गरी जनशक्ति उत्पादनमा गम्भीरतापूर्वक लाग्नुपर्ने बताउँदै मन्त्री पौडेलले दलित, महिला, तथा एकल महिला, लोपोन्मुख जनजातिलगायतको समूहलाई समेटी काम गर्नुपर्नेमा जोड दिए।
मन्त्री पौडेलले कोभिडका कारणले काम रोकियो भन्न नपाइने बताउँदै विश्वबैंकले तेस्रो चरणको परियोजनामा सहयोग गर्ने गरी काम गर्न निर्देशन दिए।
‘जनताको पक्षमा राम्रो काम गर्नेलाई पुरस्कृत र प्रोत्साहन गर्नुपर्छ', उनले भने, ‘काम गर्ने कर्मचारीको पछिसम्म पनि सम्झन योग्य काम होस्।’
कर्मचारीले प्राप्त गरेको जिम्मेवारी १० देखि ५ बजेसम्म मात्र नभई २४ घण्टा खटेर नतिजा आउने तरिकाले काम गर्न मन्त्रीले निर्देशन दिए।
विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित परियोजनाको दोस्रो चरणमा ६ अर्ब रुपैयाँ बजेट छुट्टिएको परियोजनाका निर्देशक चन्द्रकान्त भुसालले जानकारी दिए।