काठमाडौं- आईसीसी टी २० विश्वकपमा दक्षिण अफ्रिकाले आफ्नो पहिलो जित निकालेको छ। मंगलबार राति यूएईमा भएको प्रतियोगितामा दक्षिण अफ्रिकाले वेस्टइन्डिजलाई आठ विकेटले हराउँदै पहिलो जित निकालेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले पुरा ओभर खेल्दै ८ विकेट गुमाएर १४३ रन बनाएको थियो। १४४ रनको लक्ष्यका साथ मैदान उत्रिएको दक्षिण अफ्रिकाले दुई विकेटको क्षतिमा १० बल बाँकी रहँदै लक्ष्य पुरा गर्यो।
खेलमा म्यान अफ दी म्याचसमेत रहेका एनरिच नोर्कियाले वेस्ट इन्डिजको एक विकेट लिए। खेलमा वेस्ट इन्डिजका इभिन लेविसले सर्वाधिक ५६ रन प्रहार गरे। दक्षिण अफ्रिकाको जितका लागि रस्सी भेन डर डुस्सेन र एइडेन मार्करमले ८३ रनको विजयी साझेदारी गरे।
वेस्ट इंन्डिज भने लगातार दोस्रो पटक पराजित भएको छ। पहिलो खेलमा उसले इंग्ल्यान्डसँग हार बेहोरेको थियो। यता दक्षिण अफ्रिकाले भने पहिलो खेलमा अष्ट्रेलियासँग हार बेहोरेको थियो।
त्यस्तै, पाकिस्तानले जारी विश्वकपमा दोस्रो जित निकालेको छ। उसले मंगलबार राति न्युजिल्यान्डलाई ५ विकेटले हराएर दोस्रो जित निकालेको हो।
पाकिस्तानको जितमा ह्यारिस रउफ म्यान अफ दी म्याच रहे। उनले न्युजिल्यान्डको चार विकेट गिराए। टस हारेर पहिलो ब्याटिङ पाएको न्युजिल्यान्डले पुरा ओभर खेलेर ८ विकेट गुमाउँदै १३४ रन बनाएको थियो।
जवाफमा पाकिस्तानले पाँच विकेट गुमाएर ८ बल बचाउँदै १३५ रनको लक्ष्य पुरा गर्यो। पाकिस्तानका लागि मोहम्मद रिवनले सर्वाधिक ३३ रनको योगदान दिए।
यो जितसँगै पाकिस्तान समूह २ को शीर्षस्थानमा छ। विश्वकपमा आज बंगलादेशले इंग्ल्यान्डको सामना गर्नेछ भने नामिबिया र स्कटल्यान्ड भिड्नेछन्।