आइतबार, वैशाख ३०, २०८१

यसरी लयमा फर्कंदैछ पोखराको रंगमञ्‍च

लामो समय प्रत्यक्ष नाटक हेर्न नपाएका पोखरेली दर्शकहरुले प्रदर्शन भएका नाटकहरुलाई राम्रै रुचाए। दर्शहरुको रोजाईमा परेपछि पोखरामा नाटक घरको आवश्यकता महसुस भयो।
 |  मंगलबार, कात्तिक ९, २०७८

विभु भुसाल

विभु भुसाल

मंगलबार, कात्तिक ९, २०७८

पोखरा- चालीसको दशकमा पोखराको रंगमञ्चले देशकै नेतृत्व गर्थ्यो। पोखराका रंगकर्मीहरु विभिन्न समूहका नाममा नाटक मञ्चन गरिरहन्थे। यो क्रम धेरै चलेन। एक दशककै अवधिमा पोखराको रंगमञ्च सेलायो। रंगमञ्चबाट जीविकोपार्जन हुन नसकेपछि रंगकर्मीहरु अन्तै मोडिए। कोही व्यावसायिक फिल्मतर्फ लागे भने, कोहीले साहित्यको अर्कै विधा रोजे। कोहीले भने व्यवसाय सुरु गरे। तर पनि रंगमञ्चप्रतिको उनीहरुको माया भने मनमै बसिरह्यो। 

triton college

पचास र साठीको दशकमा पोखराको रंगमञ्च पूरै शुन्य भयो। सरुभक्त, अनुप बराल, प्रकाश घिमिरे, माओत्से गुरुङ, गोविन्द पराजुली, हेमन्त पराजुली, कृष्ण उदासी लगायतका रंगकर्मीको ठाउँ पोखरा रंगकर्मविहीन बन्यो। 

सत्तरीको दशकमा पोखराको रंगमञ्चमा चाँदिको घेरा देखिन थाल्यो। २०७० को सुरुमै युथ क्रिएसन थिएटरले ‘अन्तर्राष्ट्रिय रक्सीभट्टी’ नाटक प्रदर्शन गरेपछि पोखरामा नाटक प्रदर्शनको वातावरण सिर्जना भयो। 

युथ क्रिएसनपछि पोखरामा पञ्चामृत, ओथेलो लगायतका नाट्य संस्था खुले ती संस्थाले नाटक प्रदर्शन गर्न थाले। उपयुक्त भौतिक पूर्वाधार अभावमा पनि पोखरामा नाटक राम्रै चले। 

‘मेरा अरु काम रोक्किँदा गाँस रोक्किएजस्तो हुन्थ्यो, तर थिएटर रोक्किँदा सास रोक्किएजस्तो भयो।’ 

लामो समय प्रत्यक्ष नाटक हेर्न नपाएका पोखरेली दर्शकले प्रदर्शन भएका नाटकलाई राम्रै रुचाए। दर्शहरुको रोजाइमा परेपछि पोखरामा नाटक घरको आवश्यकता महसुस भयो। यही आवश्यकतालाई महसुस गर्दै युथ क्रिएसन थिएटरले पोखरामा नाटकघर निर्माणको अभियान चलायो। नाटकघर बन्न नसकेपछि अभियानले पोखरामा रंगमञ्चीय गतिविधि भने चलायमान बनाइरह्यो। 

corrent noodles
Metro Mart

युथ क्रिएसन थिएटरले सञ्चालन गरेको अभियान सफल हुन नसके पनि पोखरा थिएटरले भने २०७४ सालमा पोखरामा नाटकघर सञ्चालनमा ल्यायो। त्यसपछि पोखरामा निरन्तर नाट्य गतिविधि भइरहेका छन्। नियमित नाटक मञ्चनदेखि लिएर अभिनय, निर्देशन कार्यशाला तथा नाटक महोत्सव पनि पोखरामा भइरहेका थिए। 

पोखरा थिएटरमा नाटक मञ्चन गर्दै कलाकार।

करिब ३० वर्षपछि पोखराको रंगमञ्चले  पुरानो लय समातिरहेकै बेला कोरोना संक्रमणको लहर आयो। जसका कारण पोखराको रंगमञ्चको लय भत्कियो। करिब दुई वर्ष पोखराका रंगकर्मी पूरै बेरोजगारजस्तै भए। थोरै भएपछि व्यावसायिक बाटोमा हिँडिरहेको रंगमञ्चीय गतिविधि एक्कासि रोकिँदा उनीहरु नराम्ररी प्रभावित भए। युवा रंगकर्मी शरद भण्डारी भन्छन्, ‘मेरा अरु काम रोक्किँदा गाँस रोक्किएजस्तो हुन्थ्यो, तर थिएटर रोक्किँदा सास रोक्किएजस्तो भयो।’ 

गति लिन लागेको सात वर्षमै अनिश्चितकालीन बन्द हुनुपर्दा भण्डारी जस्ता युवा रंगकर्मीहरुको भविष्य अन्योलमा परेको थियो। तर लकडाउन खुलेसँगै पोखराको रंगमञ्च फेरि बौरिन थालेको छ। रंगकर्मी सक्रिय हुन थालेका छन्। पोखरा थिएटरले ११ दिनको निर्देशन कार्यशाला सञ्चालन गरिरहेको छ भने रेनासाँ थिएटरले नयाँ नाटक प्रदर्शनको तयारी गरिरहेको छ। 

पोखरा थिएटरका निर्देशक परिवर्तन भन्छन्, ‘अब फेरि रंगमञ्चमा बहार आउने देखिएको छ।’ उनले पोखरका रंगकर्मीहरु फेरि एकजुट भएर यहाँ निरन्तर रंगकर्म हुनुपर्ने अहिलेको आवश्यकता रहेको बताए।

संस्कृतिकर्मी तीर्थ श्रेष्ठले कोरोनाका कारण थलिएको रंगमञ्च र थलिएका रंगकर्मी नयाँ उत्साहका साथ आइरहेको बताए। उनी भन्छन्, ‘अब नयाँ सोच र योजनाका साथ पोखराको रंगकर्मलाई हरियाली बनाउनुपर्छ।’

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले कोरोनाका कारण लामो समय बन्द भएका रंगमञ्चीय गतिविधि सुरु हुन लागेकोमा खुसी व्यक्त गरे। उनले यस्ता गतिविधिले सामाजिक सक्रियतालाई जीवन्त बनाइराख्ने हुनाले सरकारले आवश्यक सहयोग गर्ने आश्वासन मेत उनले दिए। 

लामो समयदेखि रंगमञ्च र फिल्म क्षेत्रम सक्रिय कलाकार प्रमिला तुलाचनले रंगमञ्च सक्रिय भएको समाचारले आफूलगायतका कलाकारमा आशाको सञ्चार भएको बताइन्। रंगमञ्च विना कलाका टुहुरो अनुभूति हुने भन्दै तुलाचनले अबका दिनमा रंगकर्मीले राहतको सास फेर्ने सुनाइन्। 

नाटक र कार्यशाला

लकडाउन खुलेसँगै पोखराको रंगमञ्चमा एकैसाथ दुई गतिविधि भइहेका छन्। पोखरा थिएटरको आयोजनामा गण्डकी प्रदेशस्तरीय नाटक निर्देशन कार्यशाला भइरहेको छ। ११ दिनसम्म हुने यो कार्यशालामा मनाङ र मुस्ताङबाहेकका गण्डकी प्रदेशका ९ जिल्लाका २० जना सहभागी छन्। 

नाटक हेर्दै दर्शक।

पोखरा थिएटरका निर्देशक परिवर्तनले कार्यशालापछि ९ वटै जिल्लाका सहभागीले आ-आफ्नो जिल्लामा गएर थिएटर समूह बनाउने र जिल्लागत रुपमा पनि थिएटर सक्रिय हुने बताए। ‘सबै जिल्लामा थिएटर समूह बने भने पोखरामा नाटकको अभाव हुने छैन’, उनले नेपाल समयसँग भने। 

उनका अनुसार कार्यशालाको अन्तिम दिन सहभागीले एउटा प्रस्तुति तयार गरेर देखाउने छन्। त्यो प्रस्तुतिबाट उनीहरुको थिएटरप्रतिको ज्ञान, सीप र लगाव कति छ भन्ने मापन पनि हुने उनले जनाए। 

पोखरा थिएटरबाट प्रशिक्षित कलाकाहरुको समूह रेनासाँ थिएटरले मंसिरबाट नयाँ नाटक प्रदर्शन गर्ने भएको छ। थिएटरका संयोजक शरद भण्डारीले थिएटर जगाउन स्वयंसेवी रुपमा नाटक प्रदर्शन गर्न लागिएको जानकारी दिए। 

भारतीय लेखक तथा कलाकार हबिब तनविरले लेखेको ‘चरणदास चोर’ शीर्षकको नाटकलाई निश्चल विमलले निर्देशन गरेका हुन्। पोखराको रंगमञ्चलाई सक्रिय बनाउन ढिलाइ गर्न हुन्न भन्ने ध्येयले नाटक प्रदर्शनको तयारी थालिएको निर्देशक विमलले बताए। नाटक पोखरा थिएटरमै प्रदर्शन हुनेछ। 

लगत्तै पोखरा थिएटरले पनि आफ्नै प्रस्तुतिमा नयाँ नाटक गर्ने जनाएको छ। यसका लागि तयारी थालिएको निर्देशक परिवर्तनले बताए। यसका साथै थिएटरले गर्ने नियमित विद्यालयस्तरीय नाटक प्रतियोगिता, नाटक महोत्सव, कार्यशाला पनि भइरहने उनले जानकारी दिए। 

प्रकाशित: Oct 26, 2021| 16:40 मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।