काठमाडौं। नेपाली कांग्रेसको संस्थापन समूहमा आबद्ध युवा–विद्यार्थीहरूले पार्टीलाई एकताबद्ध भएर अघि बढाउन नियमित महाधिवेशनको बिकल्प नभएको जनाएको छन्।
नियमित महाधिवेशनका लागि दवाव दिन शुक्रबार काठमाडौंमा युवा–विद्यार्थी भेला आयोजना गर्दै उनीहरूले विशेष महाधिवेशनको खेलले पार्टीलाई झन समस्यामा लैजाने भन्दै नियमित अधिवेशनबाट मात्रै पार्टीको अस्तित्व सुरक्षित हुने बताएका हुन्।
उनीहरूले अहिले विशेष महाधिवेशनमा नामा पार्टीभित्र स्वार्थप्रेरित कार्य भइरहेकाले त्यसलाई तत्काल रोक्नुपर्ने धारणा समेत राखेका छन्। युवा–विद्यार्थीहरूले अहिले निर्वाचनमा पार्टीको सम्पूर्ण ध्यान केन्द्रीत गर्नुपर्ने र निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्।
भेलामा कांग्रेस युवा नेता पुष्प शाही अहिले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीलाई बलियो बनाउनुपर्ने र नियमित महाधिवेशनबाट पार्टीलाई अघि बढाउनुपर्ने धारणा राखे।
कांग्रेस महासमिति सदस्यसमेत रहेका शाहीले मंसिरमा विधानत: कांग्रेसको चारवर्षे पदावधि सकिने भएकोले महामन्त्रीद्वयले भनेको विशेष महाधेवेशनको औचित्य समाप्त भएको बताएका छन्।
‘अहिले पार्टीको विवादमा रुमलिनुभन्दा संविधानलाई लिगमा ल्याउन सबै एकजुट भएर आम निर्वाचनमा केन्द्रित हुनुपर्छ। सबैले मिलेर पार्टीलाई जिताउन भूमिका खेल्नुपर्छ। निर्वाचनमा टीकट दिँदा युवा र वृद्ध जसले अहिलेसम्म अबसर पाएका छैनन्, जो जनताको बीचमा टेस्टेड भएका छैनन्। जो इमान्दार, लगनशील, योग्य र पार्टीमा योगदान गरेका व्यक्ति हुन्। उनीहरूलाई प्राथमिकतामा राख्नुपर्छ,’ शाहीले भने।
सधैँ लाभको पदमा बसेकाहरू कुलिङ पिरियडमा बस्नु पर्ने र उनीहरूले प्रचार प्रचारको काम गरेर पार्टीका उम्मेदवारलाई सघाउनु पर्ने शाहीको धारणा छ।
नेपाल तरुण दलका केन्द्रीय सदस्य एवं कांग्रेस युवा नेता भीमकुमार गौतमले जेनजी भावना सम्बोधन गर्न भए पनि कांग्रेस नियमित महाधिवेशनमा जानुपर्ने बताएका छन्।
‘अहिलेको अवस्था जेनजीका कारणले सिर्जना भएको हो। उनीहरूलाई कांग्रेस राजनीतिको मूल धारमा ल्याउन र वडादेखि केन्द्रसम्म उहाँहरूको प्रतिनिधित्व सुनिश्चितता गराउनका लागि पनि नियमित महाधिवेशन आवश्यक छ,’ गौतमले भने।
उनले यतिबेला पार्टीमा विशेष महाधिवेशन वा नियमित महाधिवेशनको विवाद आवश्यक नरहेको औंल्याएका छन्। यतिबेला देशको अवस्थालाई मध्यनजर गर्दै कांग्रेस २१ फागुनका लागि तोकिएको प्रतिनिधि सभा चुनावमा केन्द्रित हुनुपर्ने उनले बताए।
‘चुनाव एउटा राजनीतिक दलको जीवनमा चलिरहने चक्र हो। महाधिवेशन पार्टीको आन्तरिक विषय हो। तर, यतिबेला देश संकटमा छ। यस्तो अवस्थामा नेपाली कांग्रेस जस्तो जिम्मेवार दल थप जिम्मेवार बन्नुपर्छ। देशलाई सही निकास दिनुपर्छ। हामी पार्टीको आन्तरिक विषयमा रुमलिनु हुँदैन,’ उनले भने।
त्यस्तै नेविसंघका केन्द्रीय सदस्य आदर्श मल्लले पार्टीभित्र भागबण्डाको खेलले गर्दा नेविसंघ लगाएतका भातृसंस्थाहरूको अवस्था कमजोर हुँदै गएको आरोप लगाए। पार्टीलाई एकताबद्ध गरेर निर्वाचनमा सहभागी हुने वातावरण बनाउन सवै गम्भीर हुनुपर्ने उनको भनाइ छ।
नेपाली कांग्रेसमा नियमित वा विशेष महाधिवेशन गर्ने भन्ने विवाद भइरहदा पछिल्लो समय बिभिन्न पक्षको भेला भइरहेको छ। महाधिवेशनको बिषय टुङ्गोमा पुग्न नसकेपछि शुक्रबार बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर १४ गते आइतबारसम्ममा लागि स्थगित गरिएको छ।