काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा मंगलबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाँदैछन्। उनी प्रतिष्ठानमा भएको अनियमितता छानबिनका लागि त्यसतर्फ जान लागेका हुन्।
प्रतिष्ठानका सहउपकुलपतिसमेत रहेका खतिवडा छानबिन समितिका संयोजक हुन्। छानबिनका लागि मन्त्री खतिवडासहित ३ सदस्यीय समिति बनेको छ। प्रतिष्ठान पुगेर समितिले स्गथलगत अध्ययन र सरोकारवालासँग छलफल गरी प्रतिवेदन तयार पार्नेछ।
समितिले तयारी पारेको प्रतिवेदन प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष बुझाउनेछ। समितिले विशेषगरी प्रतिष्ठानका पदाधिकारीको अनियमिततालाई अध्ययन गर्ने जनाइएको छ।
सरकारले कात्तिक ४ गते मन्त्री खतिवडाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिलाई २१ दिनभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने समय तोकिएको छ। प्रतिष्ठानमा भ्रष्टाचार, अनियमितता बढेको भन्दै चिकित्सक, स्वास्थ्कर्मी र कर्मचारी साढे तीन महिनादेखि आन्दोलनमा छन्। प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहितका पदाधिकारीलाई हटाउनुपर्ने माग आन्दोलनकारीको छ।