बुटवल– राजनीतिक दलहरुले महिला सहभगिता ३३ प्रतिशत हुनुपर्छ भनेर चर्का भाषण गरे पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन। नेकपा एमालेको वडा अधिवेशनबाट नेतृत्वमा महिलाको सहभागिता निकै न्यून देखिएकाले पनि यसलाई पुष्टि गर्दछ।
अधिवेशनमा थोरै महिला नेतृत्वकर्तामध्येकी एक हुन् बुटवल उपमहानगरपालिका–१ को वडाअध्यक्षमा निर्वाचित रञ्जु भट्टराई। ट्रेड युनियन आन्दोलनमा २०४९ सालदेखि क्रियाशील भट्टराई तल्लो तहको राजनीतिमा लागेर जनताको सेवाका लागि वडाअध्यक्ष भएको बताउँछिन्।
एमाले निकट मजदुर संगठन जिफन्टको राष्ट्रिय कमिटी महिला सदस्य तथा लुम्बिनी प्रदेश महिला इन्चार्जसमेत भइसकेकी भट्टराई माथिल्लो तहमै पुग्ने नेतृ हुन्। उनी भन्छिन्, ‘तल्लो कमिटीले नै माथिका नेता बनाउने हो, त्यसैले म जनताको सेवाका लागि वडाअध्यक्ष भएकी हुँ।’ उनले महिलालाई नेतृत्वमा पुग्न सहज नभएको बताउँदै अब आउँदो निर्वाचनमा स्थानीय तहमा एमालेलाई स्थापित गर्ने गरी लाग्ने बताइन्। त्यसो त भट्टराई २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा महिला सदस्यमा पराजित भएकी थिइन्।
‘अहिले मेरो नेतृत्वमा वडा जित्ने गरी लाग्नेछु’ उनले भनिन्। बुटवलको वडा न. १ मा मुस्लिम, दलित, मधेसी तथा अन्य समुदायको समेत गरी मिश्रित बसोबास छ। एमाले अधिवेशनमा बुटवलका १९ वटा वडामध्ये तीन वडामा महिला अध्यक्ष चुनिएका छन्।
विदेश नजाने वातावरण बनाउन लाग्नेछु : मोहन विक
दाङस्थित दंगीशरण गाउँपालिकाको वडा न. २ मा मोहन विक वडाअध्यक्षमा सर्वसम्मत निर्वाचित भए। सामाजिक न्याय, समानता र समावेशिताको नारा दलहरुले घन्काए पनि दलित समुदायबाट राजनीतिक नेतृत्वमा पुग्ने निकै कम हुन्छन्। तिनै थोरैमध्येका एक हुन् मोहन विक। दलित समुदायको समेत बाक्लो बस्ती रहेको वडा न. २ मा एमालेको वडा अध्यक्ष भएका विक युवालाई स्वदेशमै आशाको ज्योति बाँड्न चाहन्छन्। मोहन आफैंले आठ वर्षसम्म साउदी र कतारमा बिताए।
बेरोजगार समस्याका कारण बिदेसिएका उनी अब राजनीतिसँगै व्यावसायिक कृषि गर्ने अठोटमा छन्। ‘विदेशमा धेरै दुःख गरियो, तर आफ्नो देशमा गरेजस्तो नहुँदो रहेछ’, उनी भन्छन्, ‘अब राजनीतिसँगै व्यावसायिक कृषि गर्नेछु।’ उनले राजनीतिक नेतृत्वले काम गरेर समाजमा अगुवाइ गर्नुपर्ने बताउँछन्।
३४ वर्षीय मोहन एमालेको राजनीतिसँगै कृषि फर्म सञ्चालनको तयारीमा छन्। राजनीतिमा त्यति सक्रिय नभएका उनी विदेशमा पाएको दुःखकै कारण रुपान्तरणका लागि राजनीतिमा होमिएको बताउछन्। उनले समाजमा अझै पनि विभेद रहेकाले सामाजिक न्यायपूर्ण समाज बनाउन नेतृत्वको हिसाबले अगुवाई गर्ने प्रतिबद्धता जनाए।
१९ वर्षीय झरनाको मधेसमा खट्ने अठोट
एमालेको शनिबार सम्पन्न वडा अधिवेशनमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट १९ वर्षीया झरना चौधरी वडा सचिवमा निर्वाचित भएकी छन्। नवलपरासीको सुनवलमा जन्मिएकी चौधरी हाल लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रबाट मधेसको राजनीतिमा होमिने अठोट गरेकी छन्। विद्यालय तहबाटै राजनीतिमा लागेकी झरना वडा नं. ६ को सचिवमा निर्विरोध निर्वाचित भएकी हुन्।
उनी अहिले लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्नात्तक अध्ययन गर्दै छिन्। लुम्बिनी बौद्ध विश्वविद्यालयमा अध्ययन गर्न थालेपछि नै झरना लुम्बिनीमा बस्न थालेकी हुन्। यसअघि बुटवलबाटै अनेरास्ववियुमा आबद्ध थिइन्। उनी भन्छिन्, ‘लुम्बिनीमा पढ्न थालेपछि यस्तै बस्न थालें। अब यहींबाट राजनीतिमा सक्रिय हुन्छु।’ झरना अनेरास्ववियुको रुपन्देही जिल्ला सहसचिव समेत हुन्।